Logo

गण्डकीको मुख्यमन्त्री बन्न खगराजको दौडधुप, लिङ्देन फकाउँदै ओली



काठमाडौं,२८ फागुन । केन्द्रको राजनीतिमा आएको उलटफेरसँगै प्रदेश सरकारहरु फेरिनेक्रममा रहेका छन् । केन्द्रको सत्ता गठबन्धन उलटफेर आएपछि गण्डकी प्रदेश सरकारको नेतृत्व लिन सत्तारुढ दल नेकपा एमालेले दौडधुप थालेको छ ।

एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीले नेतृत्व लिनेगरी तयारी थालेका छन् । नेतृत्व लिनेगरी तयारी थालेका अधिकारीले शनिबार काठमाडौं आएर पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेका छन् ।

ओलीलाई भेटेर पोखरा फर्किएपछि उनले पार्टीको बैठक राखेका थिए । अधिकारीले काठमाडौंमा सरकार निर्माणबारे ओलीसँग छलफल भएको र सबै प्रदेशमा अब गठबन्धनकै नयाँ सरकार बन्ने बताउँदै तयारी गर्न आग्रह गरेका छन् ।

हाल गण्डकीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको प्रदेश सरकार रहेको छ । केन्द्रको गठबन्धन उलटफेर भएपछि पाण्डे प्रष्टरुपमा अल्पमतमा परेका छन् । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेसँगै फागुन २२ गते मुख्यमन्त्री पाण्डेले माओवादीका २ मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसको भोलिपल्टै माओवादीले पनि पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

माओवादीले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पाण्डे अल्पमतमा परेका छन् । उनले अब ३० दिनभित्रमा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । सरकारको नेतृत्व लिन हौसियपछि अधिकारीलाई सरकार बनाउन भने सहज छैन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार निर्माणका लागि कम्तीमा ३१ सांसदको समर्थन चाहिन्छ । हाल सत्ता गठबन्धनमा सहभागी नेकपा एमालेमा २२, माओवादीका ७ र नेकपा एकीकृत समाजवादीका १ सांसदको साथ रहेको छ ।

तीन दलको मत जोड्दा ३० जनामात्र हुन्छ । सरकार गठनका लागि १ सांसदको कमी हुने हुँदा एमालेले प्रदेशमा निर्णयक देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा नजर लगाएको छ । राप्रपाको प्रदेश सभामा २ सांसद रहेका छन् । राप्रपाले साथ दिएमा अधिकारीको नेतृत्वमा सरकार बन्ने देखिन्छ ।

अधिकारीले प्रदेश सरकारको नेतृत्व लिन तयार गरिरहँदा राप्रपाले भने तत्काल साथ दिन नसक्ने बताउँदै आएको छ । केन्द्रको निर्देशनअनुसार आफूहरु अघि बढ्ने प्रदेश सांसदको भनाइपछि एमालेले राप्रपाको केन्द्रीय तहसँग छलफल गर्ने भएको छ । राप्रपा र एमाले गत चुनावमा केही स्थानमा तालमेल गरेर निर्वाचनमा होमिएका थिए । विगतदेखि नै एमाले र राप्रपाबीच सुमधुर सम्बन्ध रहँदै आएको हुँदा यसपटक पनि प्रदेश सरकार बनाउन राप्रपाले साथ दिनेमा एमाले विश्वस्त रहेको छ ।

यसैबीच एमाले गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले आइतबार बसेको दलको बैठकले सो निर्णय गरेको जानकारी दिए ।

“सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराइएको छ”, उनले भने । बैठकले परिवर्तित अवस्थामा दलका तर्फबाट आवश्यक संवाद र समन्वयका लागि दलका नेता खगराज अधिकारीलाई जिम्मा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणका प्रक्रियामा सहज र स्वभाविक राजनीतिक निकासका लागि वातावरण तयार गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्ने निर्णय बैठकले गरेको प्रमुख सचेतक नेपालीले बताए । 



प्रतिक्रिया दिनुहोस्

Screenshot