Logo

डिलमा पुगेको सुदूर सरकार जोगाउन मुख्यमन्त्री शाहको कसरत, लक्ष्मणकिशोर चौधरी पनि मन्त्री नियुक्त हुँदै



काठमाडौं,२८ फागुन । अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार जोगाउन हरसम्भव प्रयास गरिरहेका छन् ।

गत शुक्रबार साँझ तीन मन्त्री नियुक्त गरेर मध्यराती शपथ खुवाएका मुख्यमन्त्री शाहले आज फेरी एक जना मन्त्री थप गर्न लागेका छन् । मुख्यमन्त्री शाहले आज नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मन्त्री नियुक्त गर्न लागेका छन् । नाउपा निकट स्रोतका अनुसार चौधरीलाई सामाजिक विकासमन्त्री बनाउने तयारी भईरहेको छ । उनले आजै साँझसम्म मन्त्रीको शपथ लिनेछन् ।

मुख्यमन्त्री शाहले यसअघि शुक्रबार नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए ।

नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । लक्ष्मणकिशोर चौधरी मन्त्री बनेपछि सुदूरपश्चिम सरकारमा नाउपाका मन्त्रीको संख्या ५ पुग्नेछ ।

सत्ताका सारथी दललहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले सरकार जोगाउन भागिरथ प्रयास गरिरहेका छन् ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकारलाई बहुमत पुर्‍याउन २७ जना सांसद आवश्यक पर्छ । अहिले प्रदेश सरकारलाई कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी २५ जना सांसदको मात्रै समर्थन रहेको छ ।

प्रदेश सरकार जोगाउन र ढाल्न निर्णायक देखिएको नाउपाका ७ सांसदमध्ये ५ जनालाई मन्त्री नियुक्त गरेका हुन् । नाउपालाई साथमै राखेर स्वतन्त्र सांसद ताराप्रसाद जोशी र राप्रपा सांसद खिमादेवी विष्टलाई साथमा लिने प्रयास मुख्यमन्त्री शाहले गरेका छन् ।

मुख्यमन्त्री शाहको प्रयासलाई राप्रपा र स्वतन्त्र सांसद जोशीले महत्व नदिएको स्रोतको दाबी छ । जोशीलाई त मुख्यमन्त्री शाहले प्रदेशको शक्तिशाली मानिने अर्थमन्त्रालय सु्म्पिन तयार भएका थिए ।तर, उनी नमानेको स्रोतको भनाइ छ । जोशी गत वर्षको प्रदेश सभा निर्वाचनमा एकीकृत समाजवादी परित्याग गरेर स्वतन्त्रबाट निर्वाचित भएका थिए ।

स्वतन्त्रबाट निर्वाचित भएपनि उनको एकीकृत समाजवादी र नेकपा एमाले दुवै दलसँग राम्रो सम्बन्ध रहँदै आएको छ । उनलाई तत्काल सरकारमा जान दुवै दलले रोकेको स्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्