काठमाडौं,२८ फागुन । सत्ता गठबन्धनको उलटफेर र सरकारमा पार्टीको सहभागिताबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रश्न उठेको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले नेतृत्वले अरुलाई जानकारी नदिई सरकारमा सहभागी भएको भन्दै प्रश्न उठाएका हुन् । रास्वपा स्रोतका अनुसार सरकारमा जान नहुने भन्नेमा कोही कसैले पनि आवाज नउठाएको तर, आवश्यक छलफलबिना नै सरकारमा जानु अलि हतारो भयो की भन्नेबारे केही सदस्यले प्रश्न उठाएका थिए ।
केही सदस्यले प्रशन उठाएपछि उपसभापति स्वर्णिम वाग्लेले सरकारमा जाने निर्णय सुविचारित भएको जवाफ दिएका थिए । उनले सरकारमा जानुपर्नाको कारण लामो व्याख्यासहित केन्द्रीय सदस्यलाई जानकारी गराएका थिए । वाग्लेले सन् १९९६ को भारतको राजनीतिको प्रसंग उठाउँदै सरकारमा सहभागिता ठीक भएको बताएका थिए । ‘चेस खेल्न बसिसकेपछि गोटी नचाल्ने भन्ने हुँदैन’, उनले भनेका थिए ।
नयाँ भनिए पनि निर्णय प्रक्रिया पुराना दलको जस्तै भएको भन्दै केन्द्रीय नेताहरूले आपत्ति जनाएका हुन् । आपत्ति जनाएपछि पार्टी जनतालाई डेलिभरी दिनकै लागी स्थापना भएको हुँदा सरकारमा गईसकेपछि राम्रोसँग काम गर्नुपर्नेमा सबै एकमत भएका छन् ।
सोमबार बनेको नयाँ गठबन्धनमा रास्वपा ४ मन्त्रालयसहित सहभागी भएको छ । रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्दा उपसभापति डीपी अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
त्यस्तै रास्वपाको आज बसेको बैठकले इलाम २ मा हुने उपनिर्वाचनमा एकल उम्मेदवारी दिने पनि निर्णय गरेको छ । त्यस्तै वैशाख १५ मै हुने बझाङ २ को उपनिर्वाचनमा भने भाग नलिने पनि निर्णय गरेको छ ।
त्यस्तै बैठकले पार्टीको केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता दिपक अधिकारी (बर्दिया) र अधिवक्ता शान्ता थापा (अर्घाखाँची) लाई सदस्यमा मनोनयन गरेको छ ।
बैठकले सरकारको कार्य सम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा (सरकार, संसद, संगठन) मा सल्लाह-सुझावका आधारमा सहयोगी टीमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन लाग्ने निर्णय भएको प्रवक्ता मुकुल ढकालले बताए ।
बैठकले सरकारको कामबारे समीक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री ढकाललाई जिम्मेवारी तोकेको छ । उनीहरूले पार्टीका मन्त्रीहरूसँग छलफल गरेर सरकारको कामको समीक्षा गर्नेछन् ।