काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसले आफूलाई भिलेन बनाउन खोजेको बताएका छन् । आज (बुधबार) विश्वासको मत लिनुभन्दा पहिला प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले कांग्रेसकै कारण गठबन्धन टुटेको बताए । उनले गठबन्धन टुटेपछि कांग्रेसले आफूलाई आरोप प्रत्यारोप गरेको बताए । उनले कांग्रेसले आरोप लगाएजस्तो प्रचण्डलाई आरोप लगाउन सजिलो नभएको बताए ।
‘मलाई भिलेन बनाउन तिर तपाईँहरुको जोडबल छ । तर, म के भन्न चाहन्छु भने यसले नेपाली कांग्रेसभित्रको कचिङ्गल समाधान भयो भने मैले एकचोटी फेरि नेपालको लोकतान्त्रिक आन्दोलनलाई ट्याकमा ल्याउन भूमिका खेलेँ भनेर म खुसी नै हुन्छु । विगतमा म कांग्रेसको समर्थनमा केवल एक पटक प्रधानमन्त्री भएको छु । तर, माओवादीको समर्थनमा नेपाली कांग्रेसका सभापति दुई पटक प्रधानमन्त्री हुनुभएको छ, नबिसौं । तपाईँहरुले सजिलै आरोप लगाउनु भएको छ, सजिलो छैन प्रचण्डलाई आरोप लगाउन,’– उनले भने ।
विगतमा आफूले राजनीतिक सहमतिको पूर्ण पालना गर्दै प्रधानमन्त्रीको पद नेपाली कांग्रेसलाई हस्तान्तरण गरेको स्मरण गराउँदै उनले कांग्रेसले यसो गर्न नमानेको बताए । उनले अहिले आफूले प्राप्त गरेको प्रधानमन्त्री पद कांग्रेसको विश्वासघातको जगमा खडा भएकोसमेत स्मरण गराए ।
‘कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको वचनमा के गर्यो ? तपाईँहरु आफैं छातीमा हात राखेर विचार गर्नुहोला । मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली कांग्रेसको विश्वासघातको जगमा खडा भएको छ भन्ने कुरा नबिर्सनुहोला,’– उनले भने ।