Logo

क्याविनेटकै मन्त्रीबाट आलोचनाः प्रधानमन्त्री उत्तेजित भएर बोल्नुभयो (भिडिओसहित)



काठमाडौं, १ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा उत्तेजित भएर अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्डले संसद्मा सम्बोधनका क्रममा ‘म माओवादी केन्द्रको अध्यक्ष, म प्रचण्ड, मेरो डराउने प्रवृत्ति छैन’ लगायतका धम्की दिएको उनले बताए ।

‘प्रधानमन्त्रीले सम्बोधन गर्दा अलिबढी उत्तेजित हुनुभयो कि भन्ने तपाईँहरुको अभिव्यक्ति छ । जहाँसम्म लाग्छ त्यो फिलिङ होला । हामीले पनि के भन्छौं भन्दाखेरी त्यस्तो हुनुपर्छ भन्ने त मलाई लाग्दैन । उहाँले त्यस्तोखाल्को त्यो धम्की दिएर माओवादी केन्द्रको म अध्यक्ष, म प्रचण्ड, त्यसरी डराउने प्रवृत्ति त मेरो छैन भनेर पनि बोलेकै देखिन्छ,’– उनले भने ।

नेतृत्वका बारेमा अरुले आलोचना गरेपनि नेतृत्वले त्यसलाई सम्बोधन गर्ने कुरामा संयमित हुनुपर्ने उनको सुझाव छ ।

साथै, अहिलेको सरकार सत्तारुढ गठबन्धन दलमा रहेका शीर्ष नेताहरुमा समझदारी रहेसम्म अगाडि बढ्ने उनको भनाइ छ । आम रुपमा अहिले स्थायित्व हुँदैन कि भन्ने संकेत देखिएको समेत उनले बताए । उनले आम रुपमा देखिएको निराशावादी मनस्थितिलाई सरकारले चिर्न सक्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले हिजो (बुधबार) प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । सो क्रममा प्रचण्डले उत्तेजित भएर अभिव्यक्ति दिएको मन्त्री जोशीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्