काठमाडौं, १ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित मान्छेलाई आफ्नो क्याविनेटमा ल्याएको भन्दै आपत्ति जनाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिएका रवि लामिछाने सहकारी ठगी काण्डमा छानविनको दायरामा रहेका ब्यक्ति भएको बताएका हुन् । उनले गृहमन्त्री लामिछानेले स्वार्थको द्वन्द्व हुने मन्त्रालय सम्हाल्नुले उनीमाथि रहेको आशाको भ्रम धुजाधुजा भएको बताए ।
‘उहाँले गरेको मन्त्रिपरिषद् विस्तारमा उपप्रधानमन्त्रीको पोर्टफुलियोसहित गृहमन्त्रीको जिम्मेवारी अनुसन्धानको दायरामा रहेका माननीय सदस्यलाई सुम्पिएपछि उहाँप्रति रहेको झिनो आशाको भ्रम धुजाधुजा भएको छ,’– उनले भने ।
उपप्रधानमन्त्री लामिछानेप्रति आफ्नो व्यक्तिगत कुनै पनि नराम्रो सम्बन्ध नरहेको उनको भनाइ छ । आर्थिक समस्या चुलिएको वर्तमान अवस्थामा आफ्नो पेट काटेर बचत गरेको रकम केही ठगहरुले कुम्ल्याउँदा अहिले समस्या आएको उनले बताए ।
अनुसन्धानको कमाण्ड सम्हाल्नुृपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएका उनको भनाइ छ । साथै, उक्त अनुसन्धान नै प्रभावित हुने आशंकासमेत बढेर गएको उनले बताए ।
कांग्रेसले प्रतिपक्षको रुपमा विरोधका लागि विरोध गर्नेमात्रै नभएर पुराना प्रधानमन्त्रीको नयाँ गठबन्धनलाई गुण र दोषको आधारमा विरोध र समर्थन गर्ने परम्पराको थालनी गर्ने उनले प्रतिवद्धता ब्यक्त गरे । उनले सत्तारुढ दल नेकपा (एमाले) लाई प्रतिपक्षमा रहेको बेला फागुन ६ गतेदेखि १८ गतेसम्म उठाएको कुरा नविर्सन पनि आग्रह गरे ।