काठमाडौं,१ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै सदन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कांग्रेस सहमहामन्त्री पाण्डेले संसद्को अगामी बैठकमा प्रधानमन्त्रीको जवाफ नआए कांग्रेस कडा रूपमा प्रस्तुत हुने चेतावनी दिए ।
पाण्डेले रवि लामिछानेलाई देखाएर अबौं ठगी गर्नेहरुलाई चोख्याउने प्रपञ्च त होईन भन्दै गृहमन्त्रीसमक्ष प्रश्नसमेत गरेका थिए ।
उनले भने ‘कतै गृहमन्त्रीको पोजिसनलाई रक्षाकवच बनाएर एक दुई करोड मात्रैको अभियोग लागेका तपाईँलाई शिखण्डीको भूमिकामा अघि सारेर दशौँ अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको तपाईं जानी नजानी हतियार र बनिराख्नुभएको छैन’।
उनले बुधवारको बैठकमा कांग्रेस सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्रीको जवाफमा नेक्लिजेन्सी भएकाले कांग्रेस चिन्तित भएको बताए । ‘यस परिस्थितिमा अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशङ्का बढाएको छ’, पाण्डेले भने, ‘गृहमन्त्रीले अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ ?’