Logo

संघीय निजामती सेवा विधेयक संसद्मा पेश



काठमाडौं,१ चैत । संघीय निजामती सेवा विधेयक २०८० प्रतिनिधि सभामा पेश भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सो विधेयक संसद्मा पेश गरेका हुन् ।

प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार अब यो विधेयक प्रतिनिधि सभाको अर्को बेठकमा विधेयकमाथिको सामान्य छलफल हुन सक्नेछ ।

विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरुले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरुको संशोधन समेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ ।

यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना राखेका थिए । त्यसक्रममा सांसद सुवालले उठाएका प्रश्नहरुको जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री जोशीले संघीयता कार्यान्वयनका लागि समेत यो विधेयक आवश्यक रहेको बताए ।

उनले भने, “राज्यको पुर्नसंरचना सँगसँगै प्रशासनिक पुनःसंरचना प्रस्ताव संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन, व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको छ । मुलुकको प्रशासनिक प्रणालीलाई शासकिय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गरी गर्नुपर्ने आवश्यकता छ ।” 



प्रतिक्रिया दिनुहोस्