Logo

कांग्रेसका मन्त्री हटाएर मधेश सरकारमा एमालेलाई भित्र्याउँदै मुख्यमन्त्री यादव



काठमाडौं,१ चैत । केन्द्रको सत्ता समीकरण फेरिएसँगै मधेश प्रदेश सरकार पुनर्गठनको तयारी भएको छ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका तीन जनालाई बर्खास्त गर्दै नयाँ मन्त्री थप्ने अन्तिम तयारी गरेका छन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार यादवेल आज र भोलिमै कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै नेकपा एमालेलाई सरकारमा भित्र्याउन लागेका हुन् । मुख्यमन्त्री यादवले कांग्रेसका तीन मन्त्रीलाई राजीनामा दिन यसअघि नै आग्रह गर्दै आएका थिए । तर, मन्त्रीहरुले राजीनामा नदिने अड्डी लिएपछि यादवले बर्खास्त गर्न लागेका हुन् ।

हाल प्रदेश सरकारमा नेपाली कांग्रेसका तीन जना मन्त्रीहरु सहभागी रहेका छन् । प्रदेश सरकारमा कांग्रेसका कृष्ण प्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री, वीरेन्द्र कुमार सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद समिम गृह तथा सञ्चार मन्त्री छन् ।

यसैबीच मुख्यमन्त्री यादवले लोसपाका तर्फबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीलाई भने तत्काल नहटाउने भएका छन् । लोसपा केन्द्रको सत्ता गठबन्धनमा सहभागी भएको छैन् । केन्द्रमा सहभागी नभएपनि प्रदेश सरकारमा रहने मनसाय राखेपछि लोसपालाई तत्काल नहटाउने पक्षमा मुख्यमन्त्री यादव पुगेको स्रोतले जनाएको छ ।

मुख्यमन्त्री यादवले नयाँ प्रदेश प्रमुख जनकपुर आईपुग्नासाथ कांग्रेसका मन्त्री हटाएर एमालेका सांसदलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । मधेश प्रदेशमा पहिलो दल रहेको एमालेले ४ मन्त्रालयमा दाबी गरेको छ । मुख्यमन्त्री यादव भने एमालेलाई यसअघि कांग्रेसले सम्हालेको तीन मन्त्रालल दिने र एक जना राज्यमन्त्री पनि दिन सहमत भएका छन् ।

प्रदेश सरकार पुनर्गठनमा सहयोग पुर्याउने उदेश्यले सरकारले सोमबार नै मधेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो । हरिशंकर मिश्रलाई प्रदेश प्रमुखबाट बर्खास्त गर्दै सरकारले सोमबार सुमित्रा सुवेदी भण्डारीलाई मधेशमा नयाँ प्रदेश प्रमुख नियुक्तका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । भण्डारीले बुधबार नै प्रदेश प्रमुखको शपथ लिएकी छन् । उनी आजै प्रदेश प्रमुखको कार्यालय जनकपुर पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्