काठमाडौं,२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्री बनाईएको भन्दै कांग्रेसले सदन अवरुद्ध गर्न लागेको हो ।
कांग्रेसले बिहीबार बसेको बैठकमा पनि अवरोध गरेको थियो । सुन तस्करीमा नाम जोडिएका वर्षमान पुन र सहकारीमा नाम मुछिएका लामिछानेलाई मन्त्रीबाट हटाउनुपर्ने कांग्रेसको अडान रहेको छ ।
आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी ऐन सदनमा पेश गर्ने कार्यसूची रहेको छ । तर, कांग्रेसले लामिछानेलाई विधेयक पेश गर्न नदिने अडान राखेपछि अहिले सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका छन् ।