काठमाडौं,२ चैत । अध्यागमन विभागका पूर्व महानिर्देशक सहसचिव झलकराम अधिकारी विभागीय कारबाहीका लागि सिफारिसमा परेका छन् ।
सुन तस्करीको प्रकरणको छानबिन गर्न गठित उच्च्स्तरीय छानबिन आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको हो । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।
६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ ।
पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । छानबिन समितिले अधिकारीसहित पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्यलगायतमाथि पनि कारबाहीको सिफारिस गरेको छ ।