Logo

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा



काठमाडौं,२ चैत । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले लाछिानेको राजीनामा मागेका हुन् । ‘आफूमाथि प्रश्न बोकेर उहाँ (लामिछाने) गृहमन्त्री बन्न हुँदैन थियो’, प्रतिनिधि सभा सदस्य पौडेलले भने, ‘त्यसैले उच्च नैतिकता देखाएर उहाँलाई पदबाट राजीनामा दिन म माग गर्दछु।’

सहकारी ठगी प्रकरणमा नाम जोडिएको व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले संसद्मा प्रश्न उठाउँदै आएको छ ।

पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुले गरेको प्रश्नको सामना गर्नुको साटो भागेर हिँडेको आरोप लगाएका छन् ।

उनले भने,‘प्रमुख प्रतिपक्षले केही दिनयता प्रश्नहरु सोधिरहेको छ, तर प्रधानमन्त्री प्रश्नबाट भागेर हिँड्नुभएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूको यस विषयमा डबल स्ट्याण्डर्ड देखियो । अहिलेको गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेशा अपनाउनुभएको थियो । उहाँ प्रश्न गर्ने पेशाबाट राजनीतिमा आउनुभएको हो । राजनीतिमा प्रश्न गर्नमात्र पाउनुपर्छ, आफ्नाविरुद्ध प्रश्न उठाउन पाईँदैन र प्रश्नहरु निषेध गर्नुपर्छ भनेर भन्न मिल्दैन् । आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैन थियो । सम्माननीय प्रधानमन्त्रीले प्रश्न बोकेको मान्छेलाई गृहमन्त्री बनाउनुहुँदैन् थियो ।’



प्रतिक्रिया दिनुहोस्