Logo

सहकारी र सुन प्रकरणमा पक्राउ परेका दीपेशलाई बुटवल लगियो



काठमाडौं,३ चैत । सहकारी ठगी र १३८ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनलाई बुटवल लगिएको छ ।

शुक्रबार साँझ काठमाडौंको टोखाबाट पक्राउ परेका पुनलाई थप अनुसन्धानका लागि बुटवल लगिएको प्रहरीले जनाएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका दीपेशविरुद्ध सहकारी गठीमा समेत उजूरी परेको छ ।

जीबी राईले सञ्चालन गरेको रूपन्देहीको सुप्रिम सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएका थिए । सहकारीका पूर्वकोषाध्यक्ष रहेका दिपेशविरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो ।बुटवलका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ ।

गत साउन ३ गते काठमाडौंबाट बरामद भएको ६१ किलो सुन प्रकरणको छानबिन गर्न गठित आयोगले दीपेशमाथि मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो । दीपेशको सुन तस्करी प्रकरणका मुख्य नाईँके दावा छिरिङसँग बाक्लो उठबस रहेको छानबिन समितिको ठहर छ ।

सुन प्रकरणमा सीआईबीले गरेको छानबिन प्रभावकारी नभएको निष्कर्षसहित पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot