Logo

प्रदेश सभा विघटन गर्ने केदार कार्कीको कुनै हैसियत र तागत छैन्, कोशीमा छिट्टै नयाँ सरकार बन्छ: एमाले नेता कार्की (भिडिओसहित)



काठमाडौं,३ चैत । नेकपा एमालेका स्थायी समिति सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशीमा छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

शुक्रबार राती प्राइम टाइम्स टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै कोशीका पूर्व मुख्यमन्त्रीसमेत रहेका कार्कीले मुख्यमन्त्री केदार कार्की नेतृत्वको वर्तमान सरकार अल्पमतमा परिसकेको हुँदा उनले तत्काल राजीनामा दिएर नयाँ सरकार बन्ने बाटो खोल्नुपर्ने बताए ।

आफू नेतृत्वको सरकारको विकल्प खोजिए प्रदेश सभा विघटन गरिदिने मुख्यमन्त्री कार्कीको धम्कीबारे पूर्व मुख्यमन्त्री कार्कीले भने ‘संसद्ले बहुमतले मुख्यमन्त्री छान्छ । अल्पमत भएपछि पदबाट राजीनामा दिनुपर्छ । केदार कार्कीले पदबाट राजीनामा दिएर मार्गप्रसस्र्त गर्नुपर्छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकारले विश्वासको मत नपाएपनि मुख्यमन्त्री कार्कीले प्रदेश सभा विघटन गर्न पाउनुहुन्न । त्यो नजिक केपी शर्मा ओलीले गरेको संसद् विघटनबाट स्थापित भईसकेको छ’ ।

आफू नेतृत्वको सरकारले विश्वासको मत नपाउने देखेपछि प्रदेश सभालाई अस्थिर नबनाउन आफ्नो पार्टी एमालेले केदार कार्कीलाई मुख्यमन्त्री बनाएको उनको जिकिर छ ‘केदार कार्कीलाई हामीले मुख्यमन्त्री बनाएका हौं । उहाँसित त्योबेला एउटा तागत थियो । विद्रोहको । तर, मुख्यमन्त्री बनेको भोलिपल्ट उहाँमा त्यो विद्रोहको तागत हरायो । तत्कालीन सत्ता गठबन्धन भत्काउने रणनीतिअनुासर उहाँलाई मुख्यमन्त्री बनाएका होईनौं । यद्यपि प्रतिपक्षीमा भएको पार्टीले गठबन्धन भत्काउन खोज्नु स्वभाविक नै हो । सत्ता गठबन्धन भत्काउन कोशीमा एमालेले चालेको चाल सफल भयो । आज हामी सत्तापक्ष भयौं’ ।

मुख्यमन्त्री कार्कीले म शक्तिशाली हुँ भनेर हिँडेको प्रसंग उल्लेख गर्दै पूर्व मुख्यमन्त्री कार्कीले भने ‘सबैभन्दा शक्तिशाली जनता हुन् । जनताको अगाडि कोहीपनि शक्तिशाली हुँदैन् । जनताका अगाडि धेरै ठूला तानाशाह आफै ढलेका छन् । संविधानको धारा प्रयोग गरेर नै नयाँ सरकार बन्छ । नेकपा एमालेसित ४० सिट छ । एमालेलाई ७ सिट भएका सांसदले समर्थन गरेमा संविधानको धारा १६८ को उपधारा १ अनुसार नै सरकार बन्छ’ ।

उनले ०७४ सालमा एमालेको नेतृत्वमा बनेको सरकार र पछि माओवादी केन्द्रबीच भएको एकतापछि बनेको सरकारको उदाहरण दिँदै एमालेले ठूलो दलको हंसियतले फेरि कोशीमा सरकार बनाउने दाबी गरे । ‘संविधानको गलत व्याख्या गर्न पाईंदैन । संविधानको व्याख्या अदालतले गर्छ । ०७८ साल असार २८ गते सर्वोच्चको संवैधानिक इजलासले गरेको फैसलाले केपी ओलीलाई सरकारबाट हटायो । त्यो फैसलाले सबैकुरा व्याख्या गरेको छ ’ उनले भने ।

कोशीमा एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाका गरेर ५८ सांसद्को समर्थन आफूसँग रहेको दाबी गर्दै कार्कीले कोशीमा एमालेसहितको सरकार छिट्टै बन्ने बताए । उनले कोशी सरकारको नेतृत्व कसले गर्ने त्यो टुंगिन बाँकी रहेको बताए । ‘मुख्यमन्त्रीमा मेरोमात्र दाबी रहनुपर्छ भन्ने छैन् । हाम्रो शक्ति बाँडफाटका लागि बनाईएको कार्यदलले त्यो टुंगो लगाउँछ । त्यो टिमले प्रदेशहरुको राजनीतिक बाँडफाट गर्दा जसको भागमा पर्छ उसैले लिन्छ । हाम्रो एकल दाबी भन्ने हुँदैन्’ उनले भने ।

कोशी प्रदेश सरकार बनाउनेबेला हालका मुख्यमन्त्री केदार कार्कीले गरेको सहमति पालना नगरेको उनको आरोप छ । ‘मुख्यमन्त्री बनाउँदा केदार (मुख्यमन्त्री कार्की) र म बीचमा भएको हो सहमति तर, उहाँले पालना गर्नु भएन् । सहमति पालना नगर्ने उहाँ बेइमान हो म हैन् । कमजोरी उहाँको हो । उहाँलाई हामीले धोका दिएका छैनौं । तीन महिनासम्म उहाँकोमा धाएर मैले मिलेर जान प्रस्ताव गरे तर, उहाँले मान्नुभएन त्यसपछि म चुप लागे’ उनले भने ।

पूर्व मुख्यमन्त्री कार्कीले अहिलेकै अवस्थामा कोशी सरकारलाई नेतृत्व गरेर जाने कुरा निक्कै ढिला भएको बताए । ‘प्रदेश सभा विघटन गर्ने मुख्यमन्त्री कार्कीमा हैसियत र तागत नभएको भन्दै कार्कीले भने ‘कोही मान्छेले म संसद विघटन गर्छु भनेर भन्नासाथ गर्न पाउँछ र ? । केदार कार्की वा हिक्मत कार्की कसैले पनि प्रदेश सभा विघटन गर्न पाईंदैन । प्रदेश प्रमुख नपढेको व्यक्ति हुनुहुन्न । संवैधानिक र कानुनी हिसावले मुख्यमन्त्रीले संसद विघटन गर्न सक्नुहुन्न’ उनले भने ।

केन्द्रको सत्ता समीकरण फेरिएसँगै कोशी सरकार संकटमा परेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की गत सओज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमालेको समर्थनमा मुख्यमन्त्री बनेपनि एमाले सरकारमा सामेल भएको छैन् । सरकारमा नेपाली कांग्रेससहित माओवादी केनद्र र एकीकृत समाजवादी सहभागी छन् ।

कोशीमा प्रदेश सभा निर्वाचनको एक वर्षमा संविधानका सबै विकल्प प्रयाग भएर सरकार बनिसकेका छन् । कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाए प्रदेश सभा भंग हुनसक्ने जोखिम बढ्दै गएको छ । संवैधानिक जटिलतालाई बुझेर नै सरकारमा सहभागी दलहरु नेकपा माओवादी र एकीकृत समाजवादीले कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

यता प्रदेश सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले भने कोशीमा कार्की नेतृत्वको सरकारको विकल्प नभएको निष्कर्ष निकालेको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताको बैठकले तत्काल कोशी सरकार परिवर्तनको कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot