काठमाडौं, ३ फागुन । अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउनेलाई सरकारले कारबाही गर्ने बताएका छन् । आज (शनिबार) राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आयोजना गरेको व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारका प्रवृति सरकारलाई सह्य नहुने बताएका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिरेर कालो सूचीमा परेकाहरुले नै अहिले अफवाह फैलाइरहेको उनको दाबी छ । उनले यस्ता प्रकारका अफवाहसँग नआत्तिनसमेत आग्रह गरे ।
आफ्नो स्वार्थ पूरा गर्न बैंकिङ प्रणालीप्रति अफवाह फैलाउने प्रवृत्ति सरकारलाई स्वीकार्य नरहेको उनको भनाइ छ । उनले नेपालको बैंकिङ प्रणाली उत्कृष्ट रहेको बताए ।
मन्त्री पुनले नेपालको बैंकिङ प्रणाली व्यवस्थित रूपमा सञ्चालनमा रहेको बताए । आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि नडराउन उनले आग्रह गरे ।