Logo

काठमाडौँमा ह्विलचियर दौड प्रतियोगिता सम्पन्न



काठमाडौँ, ३ चैत । बोधिसत्व इन एक्सन् (बीआइए) इन्स्टिच्युटको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको सहभागितामा ह्विलचेयर दौड प्रतियोगिता सम्पन्न भएको छ । आज यहाँ भएको पाँच किमी लामो दौड प्रतियोगिता काठमाडौँको भृकुटीमण्डपबाट सुरु भई भद्रकाली, सहिद गेट, न्यूरोड गेट, रानीपोखरी, जमल, दरबारमार्ग हुँदै भृकुटीमण्डपमा आएर समापन भएको थियो ।

प्रतियोगितामा महिला र पुरुष गरी दुई समूहको अलगअलग प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब दुई सय जनाको सहभागिता थियो । प्रतियोगिता उद्घाटनमा अन्तर्राष्ट्रिय अपाङ्गता अधिकारसम्बन्धी सङ्युक्त राज्य अमेरिकी विशेष सल्लाहकार सारा मिङ्कारा, नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनलगायत सहभागी थिए । कार्यक्रममा मिङ्काराले अपाङ्गता भएका व्यक्तिको महत्व अभिवृद्धि गर्ने समुदाय निर्माणमा खेलकुदको भूमिकाबारे चर्चा गरेका थिए ।

मिङ्काराले अपाङ्गता भएका व्यक्तिलाई सीप र रोजगारीसम्बन्धी तालिम प्रदान गर्ने, उनीहरूलाई आफ्नो समुदायमा पूर्णरूपमा सहभागिताका लागि सक्षम बनाउन बीआइएको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे । अपाङ्गता भएका व्यक्ति मैदानमा देखिँदा उनीहरूमा सहभागी हुने आत्मविश्वास बढ्ने बताउँदै उनले यसप्रकारको खेलकुदले सहभागितामा फराकिलो सामाजिक अवरोध कम गर्न मद्दत गर्ने बताए ।

विशेष सल्लाहकार मिङ्काराले विश्वभर अपाङ्गता भएका व्यक्तिको अधिकार र स्वतन्त्रताको क्षेत्र प्रचार गर्छन् । मिङ्कारा हाल आफ्नो तीनदिने नेपाल भ्रमणका क्रममा आएका हुन् । भ्रमणका क्रममा उनले सरकारी अधिकारीहरू, अपाङ्गता भएका व्यक्तिका लागि वकालत गर्ने नागरिक समाज संस्थाहरू र अमेरिकी सरकारको शैक्षिक आदानप्रदान कार्यक्रमका सहभागीसँग भेटघाट गर्नुका साथै युएसएआइडी नेपालको समावेशी विकासलाई अगाडि बढाउन साझेदार संस्थासँग कामका बारेमा जानकारी लिइरहेको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्