काठमाडौं,४ चैत । नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बस्दैछ । कैलालीको टीकापुरमा बैठक दिउँसो २ बजेपछि बस्नेछ । आज बस्ने संसदीय दलको बैठकले सुदूर प्रदेश सरकारमा रहनेकी छाड्ने भन्नेबारे निर्णय हुनेछ ।
सत्ता साझेदार दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । अल्पमतमा परेका मुख्यमन्त्री शाहले सरकार जोगाउन नाउपाका ५ सांसदलाई मन्त्री नियुक्त गरेका छन् ।
नाउपामा सरकार विस्तारको विषयलाई लिएर संस्थापक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच विवाद छ । श्रेष्ठले सरकारबाट तत्काल फिर्ता हुन निर्देशन दिए पनि चौधरीले समर्थन कायमै रहेको बताएका थिए ।
विवादकैबीच नाउपाका बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका बेला अध्यक्ष श्रेष्ठले भने ह्वीप जारी गर्दै विश्वासको मत दिएकी थिइन् ।
नाउपाका सुदूरमा ७ सांसद रहेका छन् । ७ सांसद रहेको नाउपाका ५ सांसद्नै मन्त्री बनेपनि सरकार जोगाउन पुग्ने २ मत मुख्यमन्त्री शाहलाई कमी नै रहेको छ ।