Logo

रविलाई युवाले मात्रै होईन, सहकारी पीडितले पनि मन पराउन पर्यो नि !



काठमाडौं, ४ चैत । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले जसरी भएपनि सहकारी ठगीको आरोपलाई राफसाफ गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेको बताएका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगहरुले अहिले करोडौं रुपैयाँ उठाएर फूर्तिफार्ती गरिरहेको बताएका हुन् । सहकारीमा जनताले बचत गरेको त्यति ठूलो रकम हिनामिना गरेको मान्छे गृहमन्त्री बन्न आफैंलाई लाज लाग्नुपर्ने उनको भनाइ छ । उनले

‘रविजीलाई त्यहाँ त्यही मन्त्रालयमा किन जानुपर्यो भने त्यो राफसाफ पार्नुपर्यो नि । जसरी भएपनि जोगाउनु पर्यो । जोगिन पर्यो । त्यतिमात्रै काम हो,’– उनले भने ।

गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेलाई युवा पुस्ताले मन पराएर मात्रै नहुने र सहकारीका पीडितहरुले पनि मन पराउन पर्ने उनको भनाइ छ । सहकारीको पैसा ल्याएर ग्यालेक्सी टिभी खोलेको उनको दाबी छ । अध्यक्ष केसीले भ्रष्ट र जनताको सम्पत्ति खाएकाहरुले नेपाली समाजको जीवन पद्धति कायापलट गराउने, समाजको जीवन पद्धति बढाउने भनेर झुटा आश्वासन बाँड्दै हिँडेको उनको भनाइ छ ।

विभिन्न प्रकरणमा मुछिएकालाई कारबाही गर्नुभन्दा पहिला लामिछाने आफैं ‘म सहकारीको ठग हुँ मलाई कारबाही होस्’ भनेर जेल जानुपर्ने उनले बताए । उनले लामिछानेको सुशासनका अरु अभिव्यक्ति गफमात्रै भएको बताए ।

‘सबैभन्दा पहिले त आफैं जानुपर्यो नि जेलमा । म सहकारीको ठग हुँ मलाई कारबाही होस् भन्नुपर्यो नि । इमानदारिता त्यो हो । सबै गफ हुन् । आफूले ठगेको सहकारी रकमलाई कसरी राफसाफ पार्ने त्यतिमात्रै धन्दा हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्