काठमाडौं, ४ चैत । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले कानुनको आँखामा दोषी देखिएकाहरुमाथि कारबारही हुने बताएका छन् । आज (आइतबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दोषी देखिएको जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा आउनपर्ने बताएका हुन् ।
साथै, नेपाली कांग्रेसले एमाले र माओवादीलाई हल्लाएर सरकार ढाल्न नसक्ने भएर रवि लामिछानेमाथि प्रहार गरिरहेको उनको दाबी छ । लामिछानेले आफूमाथि लागेको आरोप छानविन होस् भनेर भनिरहेको उनले बताए । साथै, लामिछाने दोषी हो र राज्यबाट प्रमाणित भएको खण्डमा कारबाही हुने बताए ।
‘कानुनको आँखामा दोषी देखिएमा उहाँहरु कानुन बमोजिम कारबाहीको दायरामा आउनुपर्छ । मिडियामा समाचार आएकै भरमा सबै मान्छेलाई दोषी करार गर्दै जाने हो भने त्यो बेठीक हुन्छ । अहिले नेपाली कांग्रेसले संसद्मा जे विषय उठाएको छ, सरकार छोड्दाको कुण्ठा, छट्पटी र पीडा हो ।’ उनले भने, ‘पानीविनाको माछाजस्तो छट्पटाहट सात दिनमै ? सामान्यतया सरकारको आचरण, काम तथा शैलीमा एक सय दिनसम्म पर्खिने कल्चर हो । उहाँहरुले विश्वासको मत लिने दिननै आन्दोलन गर्नुभयो ।’
तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई मुद्दा थियो भन्नेवित्तिकै आफूहरुले विरोध नगरेको उनको भनाइ छ । उजुरी र आलोचना अनेकौं हुनसक्ने उनले बताए । पूर्वमन्त्री बस्नेतले जब झण्डा हल्लाउँदै अख्तियारमा गरेर बयान दिएपछि र उनी अख्तियारको निगरानीमा परेपछि एमालेले प्रश्न उठाएको उनको भनाइ छ ।