काठमाडौं, ४ चैत । हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेशको मुख्यमन्त्रीको दाबी गरेको छ । हानेपाले आज विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती सरकारको नेतृत्वका लागि तयार रहेको बताएको हो ।
‘लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती प्रदेश सरकारको नेतृत्व गर्नका लागि हाम्रो नेपाली पार्टी तयार रहेको ब्यहोरा सम्पुर्ण राजनैतिक दल तथा जनतालाई अनुरोध छ,’– विज्ञप्तिमा भनिएको छ ।
‘नो नट अगेन’ भनेकाहरूलाई नै काँध हालेर अर्को त्यस्तै प्रवृतिलाई बागमती प्रदेश सरकारको शिरमा राख्न आफूहरुको काँध प्रयोग हुन नदिने हानेपाको भनाइ छ । लोकतान्त्रिक र नयाँ चरित्रकारूपमा हानेपालाई नेतृत्व दिएर सुशासन र पारदर्शीतासहितको नयाँ बाटो हिड्न सबै पार्टीसँग सहकार्य गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
बागमती प्रदेश सभाका हानेपाबाट शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गी सांसद छन् । वर्तमान सत्ता गठबन्धनले प्रदेश सरकार बनाउँदा हानेपा नै निर्णायक छ ।