Logo

सीआईबीमा पुग्यो सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन



काठमाडौं,४ चैत । सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पुगेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिहीबार उच्चस्तरीय जाँचबुझ आयोगका संयोजक एवम् पूर्वन्यायाधीश डिल्लीराज आचार्यबाट बुझेको प्रतिवेदन कार्यान्वयन अघि बढाउन सीआईबीलाई जिम्मा लगाइएका हुन् ।

आइतबार मन्त्रालयमा उपस्थित भएका सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन जिम्मा लगाएका हुन् ।

विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा छानबिन गर्न सरकारले गत असोजमा पूर्व न्यायाधीश आचार्यको नेतृत्वमा छानबिन आयोग बनाएको थियो ।

४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म पुगेको थियो। उक्त प्रतिवेदन भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा तयार भएको हो ।



प्रतिक्रिया दिनुहोस्