काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका आज हुने भनिएको २ वटा समिति सभापतिको निर्वाचन स्थगित भएको छ । प्रतिनिधि सभा सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ मञ्जु शर्मा अन्सारीको निधन भएपछि उनको शोकमा निर्वाचन स्थगित भएको हो ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५० को उपनियम १ बमोजिम फागुन ३० गते बसेको सभाको बैठकबाट राष्ट्रिय सभा अन्तर्गतका विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति पदको लागि आज निर्वाचन गर्ने गरी निर्धारण भएको कार्यक्रममा सांसख अन्सारीको निधनपछि रोकिएको राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिए ।
आज स्थगित समितिको निर्वाचन भोलि हुनेछ । दिगो विकास तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी कमला पन्त र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्र उम्मेदवारी परेको छ ।
एकल उम्मेदवारी परेकाले दुवै सर्वसम्मत सभापति चयन हुँदैछन् । राष्ट्रिय सभामा ४ वटा समिति रहेका छन् । ४ वटा समितिमा प्रमुख ४ दल नेकपा एमाले, नेपाली काग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले समान १ १ समितिको नेतृत्व गरिरहेका छन् ।