काठमाडौं, ५ चैत । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सबै घटनामा जाँच बुझ आयोग र प्रतिवेदनको आवश्यकता नरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले घटना घटिसकेपछि नेपाल सरकारका तोकिएका निकायहरुबाट छानविन भएर कारबाही हुनुपर्ने बताएका हुन् । कुनै पनि घट्ना घटेपछि सम्बन्धित निकायलाई निश्पक्ष रुपमा छानविन गर्न दिनुपर्ने उनको भनाइ छ । अध्यक्ष घिमिरेले प्रतिवेदन दिने मान्छेको स्वार्थ जसले नियुक्ति दिएको छ ऊ प्रति बाझिने बताए ।
‘के–का लागि प्रतिवेदन ? नेपाल सरकारको निकाय छैन र ? सबैले आफ्नो काम गरे भइहाल्यो नि । आफ्नो काम गरे त प्रतिवेदन नै जरुरी छैन नि । जस्तो, एयरपोर्टमा सुन पक्रियो, सुन पक्रियपछि अनुसन्धान गर्ने निकाय छ नि । उनले अनुसन्धान गरे भइहाल्यो नि ।’ अध्यक्ष घिमिरेले भने, ‘बरु प्रतिवेदनको कुरा अहिले के देखिन्छ भने– जसले प्रतिवेदन दिन्छ, या जसलाई प्रतिवेदन दिनका लागि खटाइन्छ । त्यो व्यक्ति पनि राजनीतिक प्रभावबाट आउँछ । तपाईँलाई के लाग्छ ? उसले दिएको प्रतिवेदन सबै ठीक छ ? जसले नियुक्ति गरेको छ, त्यही व्यक्तिको विरुद्ध पो जाँचबुझ गर्नुपर्ने छ कि ?’
उनले अहिले जिम्मेवारीमा रहेका हरेक व्यक्तिलाई कुनै न कुनै आरोप लागेको बताए । साथै, स्वार्थ बाझिएका मानिसहरु मन्त्री बन्ने नबन्ने कुरा राजनीतिक नैतिकताको कुरा भएको उनले बताए । अध्यक्ष घिमिरेले अहिले एकले अर्कोलाई ढाल्नका लागि हदसम्मको पावर प्रयोग भइरहेको उनले बताए ।