Logo

बालेन र हर्कहरूले गिज्याउन थालिसके, सहकारी पीडितले न्याय कहिले पाउँछन् ?: सांसद परियार



काठमाडौं,५ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सहकारी पीडितले न्याय पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले लामो समयदेखि सहकारी पीडितले न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद परियारले सहकारी पीडितले न्याय नपाउँदा काठमाडौं महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङलेसमेत सरकारलाई गिज्याएको टिप्पणी गरे ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले सहकारीपीडितले न्याय नपाउने भए सरकारमा बस्ने नैतिकता कसैलाई नहुने बताए । “देश सुन तस्करको अखडाजस्तो बनेको छ । आमजनता वाक्क र दिक्क भएका छन्, जुन जोगी आए पनि कानै चिरिएको त हैन भन्ने अवस्था भएको छ,” उनले भने, “लाखौँलाख सहकारीपीडितलाई न्याय दिलाउन नसके सरकारमा बस्नुको कुनै औचित्य हुँदैन । बालेन र हर्कहरूले गिज्याएका छन्, पीडितले न्याय कहिले पाउने ? काठमाडौंको सकडमा आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।”

उनले नेपाली कांग्रेस सरकारमा रहँदा विगतमा गरेका राम्रा कामको मुल्यांकन नभएको बताए । उनले हजारौ सहकारी पीडितहरु काठमाडौंमा आन्दोलनमा रहेकोतर्फ सरकार गम्भीर बन्नपर्ने बताए । उनले नागरिकका यावत मागहरु सम्बोधन गर्न राज्यले ध्यान नदिए सरकार भएको महसुस हुन नसक्ने बताए ।

सांसद परियारले सुन तस्करी प्रकरणको जाँचबुझ गर्न बनेको आयोगले दिएको प्रतिवेदन यथासक्य कार्यान्वयन गर्न माग गरे । ‘सुन जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन दिएको छ । हामी भन्न चाहान्छौं । आयोगले औंल्याएका जोसुकैलाई पनि सरकारले कारबाही गर्नुपर्छ’ उनले भने ‘चाहे त्यो ठूलो होस् वा सानो सबैले कानुन अनुसार सजाय पाउनुपर्छ’ ।

उनले पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेकोबारे सरकारलाई धन्यवाद दिँदै यस प्रकरणमा संलग्न रहेका सबैलाई कानुनी दायरामा ल्याउन माग गरे । उनी सुन प्रकरणको सीआईबीले छानबिन गर्दा उन्मुक्ति दिने काम भएकोतर्फ ध्यानार्काषण गराउँदा सुन प्रकरणमा जोडिएका जीवन चलाउनेले दिएको बयान छानबिन गर्न माग गरे ।



प्रतिक्रिया दिनुहोस्