काठमाडौं, ५ चैत । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँका अंगरक्षक पेस्तोलसहित पक्राउ परेका छन् । आज (सोमबार) उनीहरुलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरिएकोे हो ।
आज दुर्गा प्रसाईँसँग सम्बन्धित झापास्थित वि एण्ड सी मेडिकल कजेलको मुद्दामा सुनुवाइ थियो । सोही क्रममा प्रसाईँ अदालत गएका थिए । अदालतमा हतियारसहित प्रवेश गरेका उनका बडीगार्ड झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र झापा नै स्थायी ठेगाना भएका रामकुमार धिमाल पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट एउटा पेस्तोल फेला परेको छ । प्रसाईँनिकट स्रोतका अनुसार खड्काले बोकेको हतियारको इजाजत रहेको बताइएको छ । तर, हतियारसहित प्रवेश गर्न निषेध रहेको अदालत परिसरमा प्रवेश गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
प्रसाईँको अंगरक्षकको खड्काको साथबाट एक सय राउन्ड गोलीसमेत बरामद भएको छ । उनी पूर्व सुरक्षाकर्मी रहेको बताइएको छ ।