काठमाडौं, ५ फागुन । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । महरा आज (सोमबार) कपिलवस्तुबाट पक्राउ परेका थिए । उनलाई नियमित प्लाइटमार्फत काठमाडौं ल्याइएको थियो ।
काठमाडौं ल्याइएसँगै महरालाई सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतमा महराले आफू अस्वस्थ रहेको र उपचारका लागि अस्पताल बस्न पाउनुपर्ने माग गरेका थिए । अदालतले महराको अवस्था विचार गरेर उपचारको व्यवस्था गर्न आदेश दिएको थियो ।
उनी भर्खरै नर्भिक अस्पताल भर्ना भएका हुन् । महराले अदालतमा आफू टीबी, युरिक एसिड र प्रोस्टेटको बिरामी रहेको जानकारी गराएका थिए । उनले यसअघि पनि नर्भिकमै उपचार गराउँदै आएकाले अहिले पनि सोही अस्पताल लगिएको बताइएको छ ।