काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले आफूहरुले टिआरसी विधेयकलाई लिएर कुनै विवाद नगरेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त विधेयक पीडितमैत्री हुनुपर्छ भन्ने कांग्रेसको बटमलाइन रहेको बताए । टिआरसी विधेयकमा अन्तर्राष्ट्रिय मूल्य मान्यता, सर्वोच्च अदालतको व्याख्या विश्लेषण र पीडितलाई बेवास्ता गरेको खण्डमा अप्ठ्यारो पर्ने उनको चेतावनी छ ।
साथै, निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म देशमा स्थिर सरकार नबन्ने उनको दाबी छ । उनले निर्वाचन प्रणाली परिवर्तनका लागि कांग्रेस तयार रहेको र त्यसमा जोडिन चाहने अरु दललाई पनि कांग्रेसले साथमा लिएर अगाडि जाने बताए ।
‘प्रधानमन्त्री १/१ वर्षमा परिवर्तन हुँदा कस्तो नीति आउँछ ? यो दश वर्षमा हेर्नुस् त कसरी चेन्ज भएको छ । संविधानको आधारभूत प्रणालीलाई नचलाएर निर्वाचन प्रणालीमा परिवर्तन गरी व्यवस्थित गर्न सक्छौं कि सक्दैनौं ? त्यतातिर हाम्रो ध्यान दिन जरुरी छ,’– उनले भने ।
त्यसैगरी कांग्रेस–एमालेको सरकार बन्ने सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ । अहिलेको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक सबैतिर देश अप्ठ्यारो परिस्थितिमा पुगेको उनको ठहर छ । उनले देशको यस्तो अवस्था अन्त्य गर्न कांग्रेस–एमालेसहितको स्थायी सरकार आवश्यक रहेको बताएका हुन् । अस्थिर सरकारकै कारण अहिले ऋण लिएर कर्मचारीलाई तलब खुवाउन पर्ने बेला आएको उनको भनाइ छ ।
‘राजनीतिमा सम्भावना रहन्छ । सम्भव असम्भवको कुरा होईन । देश कस्तो अवस्थामा छ ? आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक सबैतिर देश अप्ठ्यारो परिस्थितिमा पुगेको छ । अहिलेको अर्थतन्त्र ऋण लिएर तलब खुवाउन पर्ने अवस्था छ । राजश्व उठिराखेको छैन,’– नेता कोइरालाले भने ।
विगतको १०/१५ वर्षमा सुनकाण्ड, वाइटबडी ललिता निवास, शरणार्थी काण्डलगायतका काण्डैकाण्ड आएको उनले बताए । यस्ता प्रकारका काण्डले अन्तर्राष्ट्रिय समुदायको नजरमा देश कमजोर बनेको उनको भनाइ छ ।
नेता कोइरालाले कांग्रेसको समर्थनविना बहुमतले टिआरसी विधेयक पारित गरेर देखाउन पनि चुनौति दिए । उनले माओवादीले भनेकै जसरी एमालेले पनि टिआरसी विधेयक पारित नगर्नेमा आफू विश्वस्त रहेको बताए ।