Logo

कृष्णबहादुर महरा उर्फ ‘अमरसिंह’ को महापतनको नालिबेली



  • कमल बुढाथोकी

काठमाडौं, ६ चैत । साढे ४ दशक लामो राजनीतिक यात्रामा निरन्तर शक्तिमा रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा यतिबेला प्रहरी हिरासतमा छन् । पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनका लागि महत्वपूर्ण योगदान दिएर नेपालको राजनीतिमा साइलेन्ट खेलाडीको उपमा बनाएका महरा जीवनको उतर्राधतिर भने सुन तस्करी प्रकरणमा हिरासत पुगेका हुन् । ०७९ को पुस र गत साउनमा हङकङ हुँदै नेपाल भित्रिएको १३८ किलो सुन प्रकरणमा महरा जोडिएको भन्दै सुनको अवैध पैठारी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको लागि सिफारिस गरेपछि सोमबार उनी कपिलबस्तुबाट पक्राउ परे ।

कपिलबस्तुबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याएर प्रहरीले सीआईबीको जिम्मा लगाएको थियो । सीआईबीले महरालाई सोमबार नै जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । देश शान्ति प्रक्रियामा गएपछि महरा प्रहरी हिरासत पुगेको यो दोस्रो पटक हो । यसअघि ०७६ सालमा सभामुख रहँदा संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुव्यर्वहार गरेको आरोप लागेपछि उनी १३३ दिन थुनामा बसेका थिए । उक्त घटनामा महराले अदालतबाट सफाइ पाएका थिए ।

माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धमा ‘अमरसिंह’ उपनामबाट नेतृत्वदायी भूमिका निर्वाह गरेका महराले जनयुद्धको समाप्ति र शान्ति प्रक्रियापछि भने अमरसिंह नामको गरिमालाई कायम राख्न सकेनन् । माओवादीले जनयुद्ध सुरु गर्नुअघि भएको ०४८ सालको संसदीय निर्वाचनमा तत्कालीन जनमोर्चाबाट उम्मेदवार बनेर रोल्पाबाट विजयी बनेका महरा ०७४ सालको संसदीय निर्वाचनमा दाङबाट विजयी भएर प्रतिनिधि सभाको सभामुख हुँदासम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दरिलो सारथी थिए ।

पार्टी अध्यक्ष प्रचण्डले जत्तिकै कार्यकारी भूमिका निर्वाह गर्न नपाएपनि प्रचण्डलाई सफल बनाउन महराले हरसम्भव प्रयास गरेका थिए । तर, ४५ वर्ष लामो राजनीतिक यात्रामा प्रचण्डलाई भरमग्दुर साथ दिएका उनै महरा जीवनको उतर्राधमा आएर काण्डै–काण्डको रसातलमा फसेका छन् । तीन पटक उपपप्रधानमन्त्री र ६ पटक मन्त्रीको कुर्सीमा बसेका महरा सरकार–माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटक–पटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक बनेका उनी आज आएर भने महापतनको बाटोमा पुगेका छन् ।

यी हुन महरा जोडिएका चर्चित काण्डहरु

सुन तस्करी प्रकरण

हङकङ हुँदै अवैध रुपमा नेपाल भित्र्याईएको १३८ किलो सुन प्रकरणमा महरा मुछिएपछि फेरि एकपटक उनी विवादमा तानिएका छन् । सुनको अवैध तस्करीबारे जाँचबुझ गर्न गठित पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन आयोगले महरालाई दाषी ठहर गर्दै कारबादीको भागिदार बनाएपछि उनी सोमबार पक्राउ परेका छन् ।

सुन तस्करीका मुख्य नाईके चिनियाँ नागरिक दावा छिरिङसँग बाक्लो साँठगाँठ देखिएको सीआईबीका अधिकारीहरु बताउँछन् । भेपमा राखेर नेपाल भित्रिएको सुनमा पनि उनै महराले चिनियाँ व्यापारीलाई काठमाडौंमा गाडीको व्यवस्थापन गरिदिएको छानबिन आयोगको भनाइ छ । महराले भन्सारमा अड्किएको भेप छुटाउन तत्कालीन भन्सार विभागका महानिर्देशक अरुण पोखरेललाई पटक– पटक फोन गरेर दवाब दिएको आयोगको निश्कर्ष छ । आयोगको सिफारिस बमोजिम पक्राउ परेका महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । विभिन्न प्रकारका बिरामी रहेका महरा नर्भिक अस्पतालमा भर्ना भएका छन् । महरालाई अस्पतालमा राखेर उपचारसँगै छानबिन गर्न अदालतले अनुमति दिएको हो ।

यौन दूव्यर्वहारको आरोप १३३ दिन थुनामा

नेपालको संसदीय इतिहासमा सभामुखजस्तो उच्च पदमा रहेको अवस्थामै महरामाथि यौन दूराचारको आरोप लाग्यो । ०७६ सालको असोज १२ गते संसद् सचिवालयमा कार्यरत शाही थरकी एक महिला कर्मचारीलाई जबरजस्तीकरणी गरेको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए ।

महिला कर्मचारीको उजुरीपछि पक्राउ परेका महरा बिरामीको बाहना बनाएर लामो सयम अस्पतालमा बसे । पछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि केही दिन थुनामा बसेका थिए । अस्पताल र थुनामा गरी कूल १३३ दिन कैद भोगेका महराले पछि उच्च अदालतबाट सफाइ पाएका थिए । यौन दूराचारको आरोपपछि सभामुख पद गुमाएका महराको राजनीति त्यही घटनाले ओरालो लागेको थियो । जुन अहिले पनि जारी छ ।

कौडीको भाउमा फ्रिक्वेन्सी वितरण

महरा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेको बेला भएको एउटा निर्णय अत्यन्तै विवादमा रह्यो । नेपालकै सबैभन्दा धनी व्यापारीको सूचीमा अग्रभागमा रहेका अजेयराज सुमार्गीलगायतको टोलीलाई फ्रिक्वेन्सी कौडीको भाउमा जिम्मा लगाएको आरोप लाग्यो । सत्ता र शक्तिको आडमा महराले कौडीको भाउमा फ्रिक्वेन्सी दिलाएको भन्दै तत्कालीन संसद्मा प्रतिपक्षी दल नेकपा (एमाले) लगायतले तीब्र विरोध गरेका थिए । उक्त काण्डले पनि महरालाई विवादमा तान्यो ।

चिनियाँ नागरिकसँग ५० करोडको घुस डिल

पटक–पटक उपप्रधानमन्त्री बनेका महरा ०६७ साल भदौं १८ गते अर्को विवादमा तानिए । महराले एक जना चिनियाँ नागरिसँग ५० करोड रकम घुस मागेको अडियो सार्वजनिक भएको थियो । माओवादीको नेतृत्वमा सरकार बनाउन सांसद खरिद गर्नुपर्ने भएको हुँदा रकम आवश्यक परेको भन्दै महराले सो रकम माग गरेका थिए । रकम माग गरेको अडियो सार्वजनिक भएपछि अख्तियारमा उजुरीसमेत परेको थियो । तर, कुनै पनि पदाधिकारी नरहेको अख्तियारमा भगवतीकुमार काफ्ले कार्यवाहकको भूमिकामा रहेका थिए । राजनीतिक दवाबमा परेका काफ्लेले सो घटनालाई कुनैपनि छानबिनको दायरामा ल्याउन सकेनन्, चाहेनन् । सो काण्ड यत्तिकै सेलायो ।

लडाकुको करोडौं रकममा भ्रष्टाचार

पूर्व अर्थमन्त्री तथा गृहमन्त्रीसमेत भईसकेका महरामाथि लागेको अर्को कालो धब्बा लडाकुको करोडौं रकममा भ्रष्टाचार गरेको पनि हो । आफैले नेतृत्व गरेको जनयुद्धमा ज्यानको बाजी लाएर सहभागी भएर आफैलाई राज्यको शक्तिशाली बनाउन ज्यानको बाजी लगाउने कयौं लडाकुहरुका नाममा आएको करोडौं रकममा महराले गिद्धेदृष्टि लगाएका थिए । जसले उनको आलोचनामात्र भएन जनयुद्धको औचित्यमाथिनै प्रश्न उठेको थियो ।

२०६४ वैशाख ७ गतेदेखि शान्ति मन्त्रालय अन्तर्गतको शान्तिकोषले ३० हजार अठ सय ५२ माओवादी लडाकुका लागि मासिक पाँच करोड ७३ लाख ८५ हजारका दरले नौ महिनासम्म सरकारले ५२ करोड निकाशा गरेको थियो । उक्त रकमको चेक कृष्णबहादुर महराले बुझ्दै आएका थिए । महराले बुझ्ने गरेको उक्त रकमबारे विवाद भएपछि भ्रष्टाचार भएको तथ्यका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।

मन्त्री बन्न अख्तियारमा सेटिङ

नेपालको संसदीय राजनीतिमा एम सरको नामले परिचित महरा जोडिएको अर्को काण्ड मन्त्री हुनुअघि अख्तियारबाट पाएको क्लिन चिट पनि हो । ०७३ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्थमन्त्री बन्न दौरा सुरुवाल सिलाएर बसेका महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति कमाएको भन्दै छानबिन थालेपछि तनावमा परेका महराले तत्कालीन अख्तियारका प्रमुख लोकमानसिंह कार्कीलाईसमेत चित्त बुझाएर क्लिचिट पाएका थिए ।

महरा यी मात्रै होइनन् राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँगै उठबस, लडाकुको नाममा करोडौं रकम रकमान्तरण, निर्दोश जनसेनालाई हिरासतमा पठाएको, ०७३ सालमा बरामद भएको ३३ किलो सुन काण्डमा मुछिएको, छोराको एनजीओमा चिनियाँ लगानी भित्र्याएको लगाएतका कयौं आरोप र काण्डमा मुछिएका थिए ।

सधैं शक्तिमा रहेका महरा को हुन् ?

महरा सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रका उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री, पूर्व सभामुख महरासमेत हुन् । उनी पटक–पटक सूचना तथा सञ्चार मन्त्री बनिसकेका छन्। सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्त्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो। योसँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे। विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागि समेत उनले भूमिका निर्वाह गरेका छन्। तर, त्यहीबेला फ्रिक्वेन्सी कौडीको भाउमा वितरण गरेको आरोपमा विवादमा फसे ।

२०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा सञ्चारमन्त्रीसमेत भएका थिए। २०४८ सालको आम निर्वाचनबाट रोल्पा–२, २०६४ को संविधानसभा निर्वाचनमा दाङ–३ र संविधानसभा निर्वाचनमा रोल्पा–१ बाट विजयी बनेका महरा लगातार तीनवटा चुनाव जित्ने नेता हुन् । निम्न वर्गीय किसान परिवारमा जन्मिएका महराले रोल्पा जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषय अध्यापन गराएका थिए । २०३६ देखि वाम राजनीतिमा लागेका महरा २०५२ देखि भूमिगत भए। माओवादी विद्रोह सुरू भएपछि महरा सपरिवार भूमिगत भए।

रोल्पा जिल्लाको लिवाङ गाविस वडा नम्बर–७ मेबाङमा रविचन्द्र र समुद्रादेवीको छोराको रूपमा जन्मिएका महराका २ छोरा २ छोरी छन्। महराका दुई छोरा निर्मल र राहुलमध्ये राहुल गत भदौदेखि सुन तस्करी प्रकरणमा थुनामा रहेका छन् । ०६५ सालपछि पार्टीको स्कुल विभागको जिम्मा पाएर देश विदेश घम्ने मौका पाएका महराले त्यतीबेला देखिनै विभिन्न व्यक्तिहरुसँग सम्बन्धन बनाएको उनलाई नजिकबाट जान्नेहरु बताउँछन् । त्यस्ता सम्बन्धहरु कतिपय विवाद र शंकाको घेरामा पनि परेका थिए । यौन दूराचारको आराप र सुन प्रकरण भन्दा अघि लागेका दर्जनौं आरोपलाई चिर्दै राजनीतिमा गति बढाई रहेका महरा यी दुई आरोपबाट भने सजिलै उम्किने अवस्थामा रहेनन् । यौन दुर्व्यवहारको आरोपमा अदालतबाट सफाई पाएपनि राजनीतिक छवि बिग्रिसकेको थियो । त्यसपछि उनलाई सक्रिय राजनीतिमा फर्किन सकस पर्यो । केही वर्ष गुमनाम बनेका उनी पार्टीमा पनि खासै सक्रिय बनेनन् ।

गत वर्षको महाधिवेशनबाट उपाध्यक्ष चुनिएका महरा ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार पनि बनेनन् । दाङबाट उम्मेदवार बन्न पार्टीमा प्रस्ताव आएपनि उनले रेखा शर्मालाई अघि सारेर ब्याक भए । रेखा हाल संघीय संसद्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री छिन् । पार्टी अध्यक्ष तथा जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्डलाई सफल बनाउन ज्यानै दिएर लागेका महरा उनै प्रचण्ड नेतृत्वकै सरकारका पालामा पक्राउ परे । आफ्नो पार्टीको सरकार हुँदा सुन तस्करी काण्ड भएको थियो । यसअघि माओवादीबाट गृहमन्त्री रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निक्कै जोडबल गरेर बचाए पनि सत्ता गठबन्धन उलटफेर भएपछि एक सातामै महरा पक्राउ परे । उनी पक्राउ परेसँगै माओवादी वृत तरंगित छ ।

महरालाई कपिलवस्तु प्रहरीले रोकेपछि काठमाडौंमा रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका थिए । तर, प्रचण्डले अब आफूले केही पनि गर्न नसक्ने बताएपछि महरा निरास छन् । आज बसेको माओवादीको पदाधिकारी बैठकमा पनि महरा पक्राउको विषयमा प्रश्न उठेको थियो । कतिपयले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महरालाई पक्राउ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । तर, प्रचण्ड स्वयंले गल्ती गर्ने कोही कसैले पनि उन्मुक्ति नपाउने भन्दै आफैले गृहमन्त्रीलाई सो काम गर्न अह्वाएको जवाफ दिएपछि पदाधिकारीहरु नबोलेको स्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्