काठमाडौं,७ चैत । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुईजना अंगरक्षक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर रिट माथि आज सुनुवाई हुँदैछ ।
सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई जनाकै परिवारले सर्वोच्च अदालतमा दायर गरेका बन्दी प्रत्यक्षीकरणको रिट निवेदन न्यायाधीश शारंगा सुवेदीको एकल इजलासमा पेशी परेको छ ।
सोमबार प्रसाईंको रिटमाथि सुनुवाइ भएकाले उनीसहित उनका बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए। खड्काका नाममा लाइसेन्स जारी भएको अत्याधुनिक मेसिन गन धिमालका साथबाट बरामद भएको थियो।
उनीहरुलाई मंगलबार जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । मंगलबारै रिया राजवंशी धिमाल र शान्ता खड्काले बन्दी प्रत्यक्षीकरणको रिट हालेका हुन् ।