Logo

एकीकृत समाजवादीबाट मात्रै इलाम-२ मा चुनाव नलड्ने झलनाथ खनालको उद्घोष (भिडिओसहित)



काठमाडौं, ७ चैत। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टीको बलमा मात्रै इलाम–२ मा चुनाव नलड्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वामपन्थीहरुले साझा उम्मेदवार बनाएमात्रै आफू इलाम–२ को आसन्न निर्वाचनमा भाग लिने बताएका हुन् । उनले अहिले एकीकृत समाजवादीको बलमा मात्रै भने उम्मेवार नबन्ने बताए ।

‘संसद्मा जाने कुरा हाम्रो आधारभूत हकमध्ये एउटा हो । त्यस कारण संसद्मा जान्न कसले भन्नसक्छ ? म पनि भन्दिँन । अनुकूल परिस्थिति बन्नसक्छ भने म इलाममा चुनाव लड्न सक्छु ।’ उनले भने, ‘इलाम–२ मेरो जन्मथलो हो । तर, आफ्नै पार्टीको बलबाट मात्रै अहिले म चुनाव लड्दिनँ । वामपन्थीहरुले एकतावद्ध भएर मलाई साझा उम्मेदवार बनाउँछन् भने त्यो बेलामा त सोच्ने कुरा आइहाल्छ नि ।’

वामपन्थीहरुको एकता अपरिहार्य रहेको उनको भनाइ छ । उनले कार्यगत एकता गर्दै विस्तारै पार्टी एकताको बाटोमा वामपन्थीहरु अगाडि बढ्नुपर्ने उनले बताए ।

साथै, नेता खनालले नेपालमा चीनले कम्यु्निष्टहरु मिलाउँछ भनेर प्रचार भारत र अमेरिकाले गर्ने प्रचारमात्रै भएको बताए । मैत्रीपूर्व भावमा जोसुकैसँग पनि भेटघाट सहकार्य हुने उनको भनाइ छ । पछिल्लो समय सत्ता गठबन्धनमा आएको उलटफेर नेपालको आन्तरिक राजनीति भन्दा केही पनि नरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्