काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले सहकारी ठगी प्रकरण निश्पक्ष रुपमा छानविन नभएसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणबाट बचतकर्तामात्रै पीडित नभएर देशको अर्थतन्त्र नै समस्यामा परेको बताएका हुन् ।
‘सहकारीमा के भयो भनेर निश्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो हुन्छ । धेरै नेपाली नागरिहरुले पीडा पाएका छन् । पीडितहरुको मात्रै कुरा गरेको होईन, यसले हाम्रो अर्थतन्त्रमा पनि समस्या ल्याएको छ । यसमा छिटोभन्दा छिटो निश्पक्ष छानविन गर्नुपर्ने जरुरी छ,’– उनले भने ।
अहिले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले सहकारी ठगीबारे छानविनका लागि संसदीय समितिको आवश्यक परेको बताए । उनले आरोपित व्यक्ति नै गृहमन्त्री बनेको अवस्थामा निश्पक्ष छानविन हुन नसक्ने बताए ।
‘अहिले झाँक्री पनि त्यही, बोक्सी पनि त्यही । आरोपित व्यक्ति पनि त्यही र छानविन गर्ने गृहमन्त्री पनि त्यही । त्यही कारण अहिले यो संसद्बाटै छानविन गर्न जरुरी छ,’– उनले भने ।