काठमाडौं, ९ चैत । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने नेताहरुले गरेको अपराधको प्रतिउत्पादक भएको टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेको राजनीतिमा कुनै लगानी र त्याग नभएपनि उनी प्रतिउत्पादकको रुपमा उदायको बताएका हुन् ।
‘यिनीहरुको जीवनको लक्ष्य नै गृहमन्त्री हुने हो । त्यत्रो उहाँहरुले त्याग गर्नुभएको छ । राजनीति लगानी छ, रवि लामिछानेको त केही पनि छैन नि । न त्याग छ, न राजनीतिक लगानी छ, केही पनि छैन नि त । यिनीहरुको अपराधले गर्दा त्यस्तो प्रतिक्रिया उत्पन्न भयो,’– केसीले भने ।
लामिछानेले राजनीतिक त्याग र संघर्ष गरेका नेताहरुको टाउकोमा टेक्न सफल भएको उनले बताए । ठूला नेताहरुले गरेको अपराधका कारण उनलाई राजनीतिमा उदाउन सजिलो भएको विश्लेषक केसीको दाबी छ । लामिछानेले यसरी टाउकोमा टेक्दा राजनीतिक त्याग र लगानी भएका नेताहरुलाई लज्जाबोध हुनुपर्ने उनको भनाइ छ ।