काठमाडौं,९ चैत । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि नयाँ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको हो ।
कार्कीको नेतृत्वमा पूर्व एआईजी पुष्कर कार्की र सञ्जिब मिश्र सदस्य रहेको सरकारकी प्रवक्ता तथा सूचना सञ्चार एवं प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।
सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो । त्यो आयोगले ५ हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुंग्याएको थियो । तर त्यसले समस्या समाधान नगरेको भन्दै पीडितहरु २३ दिन पैदल हिंडेर काठमाडौं आएपछि सरकारले नयाँ आयोग बनाउने सहमति गरेको थियो । त्यही सहमतिअनुसार गृह मन्त्रालयको प्रस्तावमा आयोग गठन भएको सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।