Logo

नेपाली समाज कांग्रेस-कम्युनिष्टको दासताबाट अझैं मुक्त हुन सकेनः अर्थविद् न्यौपाने



काठमाडौं, ९ चैत । अर्थविद गोपीलाल न्यौपानेले नेपाली समाज अझै दासताबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) परिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्रमा राजाको र अहिले ओली, प्रचण्डलगायतको दासको रुपमा नेपाली समाजले आफूलाई विकास गरिरहेको बताए । नेपाली समाजले दासताबाट मुक्त भएर स्वतन्त्रताको स्वास फेर्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘कसैलाई केपी ओलीजीको दास बन्नुछ, कसैलाई प्रचण्डको दास बन्नुछ, कसैलाई ज्ञानेन्द्रको दास बन्नुछ, कसैलाई रविजीको दास बन्नुछ । यहाँ दासैदासको समाज भयो । त्यसैले यो पहिला दासताबाट मुक्त हुनुस् । एकचोटी स्वतन्त्रताको स्वास फेर्नुस् । अब फेरी नेपालमा व्यवस्था परिवर्तन गर्न आवश्यक छैन ।’

वर्तमान व्यवस्थालाई नै हामीले निर्माण गर्नुपर्ने उनको भनाइ छ । वर्तमान व्यवस्थाले राजनीतिक, आर्थिक र व्यक्तिगत स्वतन्त्रताको वकालत गर्नसक्ने उनको भनाइ छ । कांग्रेस र कम्युनिष्टको शोषणबाट आक्रान्त भएका नेपालीहरुलाई फेरी फालिएको राजतन्त्र ल्याएर पिल्साउन नहुने उनको तर्क छ ।

वर्तमान व्यवस्था पुँजीवादी भएपनि हालिमुहाली समाजवादी र साम्यवादको वकालत गर्नेहरुले गरेको उनको आरोप छ ।
साथै, सरकारले स्टन्ट गरेर पुँजीपति, उद्योगी र व्यवसायीहरुलाई आतङ्कित पार्ने गरेको भन्दै उनले उक्त कार्यको विरोध गरे । अर्थविद् न्यौपानेले पुँजीपति, उद्योगी, व्यवसायी र लगानीकर्ता भएमा मात्रै देश विकास र रोजगारी सिर्जना हुने बताए ।
‘सरकारमा बसेर स्टन्ट गर्ने होईन, कसैलाई आतङ्कित पार्ने होईन । हामीलाई पुँजीपतिहरु चाहिएको छ । उद्योग, विदेशी लगानी चाहिएको छ । अनि पो यहाँ रोजगारी हुन्छ,’– उनले भने ।

जातको आधारमा राजनीति गर्न खोज्नेहरुलाई समाजवाद बहिस्कार गर्नुपर्ने उनले बताए । उनले नागरिक अभियन्ताको नाममा विकृति फैलाउनेहरुमाथित कारबाही गरिनुपर्ने बताए ।

अर्थविद् न्यौपानेले यही व्यवस्थाले देशमा सुशासन र समृद्धि दिन सक्ने दाबी गरे । वर्तमान व्यवस्थामाथि केहीले स्टन्ट गरेर प्रश्न उठाएको भन्दै उनले तिनीहरुलाई भेलुबाजेको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्