Logo

केही दिनमै भूमि आयोग गठन हुन्छ, दुई वर्षभित्र सबै समस्या समाधान गर्छौंः मन्त्री अधिकारी (भिडिओसहित)



काठमाडौं, १० चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालै सरकारले विघटन गरेको राष्ट्रिय भूमि आयोग केही दिनमै नयाँ ढंगबाट गठन हुने बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आयोगका कार्यविधि संशोधनसहित नयाँ तरिकाले अगाडि बढ्ने बताएका हुन् ।

‘खारेज होईन, यसलाई पुनर्व्यवस्थापन गरेर अझ व्यस्थित गरेर जाने हो । प्रदेश र स्थानीय तहसँग पनि जोडिनुपर्छ भन्ने हाम्रो मान्यता हो । विगतको भूमि आयोगको अधिकार थियो, त्यसमा अलि नजोडिएकोजस्तो देखियो ।’ उनले भने, ‘व्यवस्थापनका कुरामा भएका कमी कमजोरीलाई सुधारेर लानुपर्छ भन्ने हिसाबले पनि हामीले अगाडि बढाएको हो । समस्या नआइ समाधानको बाटो खोजिन्छ । त्यसलाई व्यवस्थापन गरेर अगाडि बढ्ने तयारीमा छौं, केही दिनमै काम थालनी भएको तपाईँहरुले सुन्न पाउनुहुन्छ ।’

सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आफूले मास्टर प्लान बनाएर अगाडि बढ्ने तयारी गरेको उनले बताए । उनले जग्गाका सम्बन्धमा रहेको विविध प्रकारका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर भएर लाग्ने बताए । सरकारमा सहभागी भएका दलहरुले न्यूनतम् साझा कार्यक्रममा दुई वर्षभित्र सुकुम्बासी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएकाले आफू सोही स्प्रिटमा काम गरिरहेको उनले बताए ।

सरकारले केही दिनअघि राष्ट्रिय भूमि आयोग विघटन गरेको हो । भूमि आयोग विघटनका सन्दर्भमा सरकारको तीब्र आलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्