Logo

नेपाल-भारत महिलामैत्री समाजद्वारा दलित तथा अति विपन्न परिवारलाई निःशुल्क ग्यास चुल्हो वितरण



काठमाडौं, १० चैत । नेपाल भारत महिलामैत्री समाज काठमाडौंले सर्लाहीको गोडैता नगरपालिकाका दलित तथा अति विपन्न परिवारलाई निःशुल्क ग्यास चुल्हो सेट वितरण गरेको छ । गोडैता नगरपालिका–८ स्थित श्री बेणी भोला नमूना माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा नेपाल भारत महिलामैत्री समाजकी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चन्दा चौधरी तथा भारतीय कन्सुलेट वीरगन्जका पोलिटिकल कन्सुल शैलेन्द्र कुमारद्वारा उक्त नगरपालिकाका अति विपन्न तथा दलित परिवार लाई निःशुल्क ग्यास सेट वितरण गरिएको हो ।

भारत सरकारको साना विकास परियोजना अन्तर्गतको सहयोगमा नेपाल भारत महिला मैत्री समाजले गोडैता नगरपालिकाका तीन सय ३० अति विपन्न तथा दलित परिवारलाई निःशुल्क ग्यास चुल्हो सेट वितरण गरेको हो। उक्त कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले नेपाल र भारतबीच पारिवारिक सांस्कृतिक धार्मिक र अत्यन्त मजबूत सम्बन्ध रहेको र यस किसिमका सहयोगले नेपाल भारतका जनताबीच नै सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।

पूर्व मन्त्री चौधरीले उक्त अवसरमा आफ्नो मुख्य धेय नै गरिब महिला हरुको आर्थिक सामाजिक हिसाबले उत्थान गर्नु र यस किसिमका सहयोगले महिलाहरुको स्वास्थ्यमा सुधार हुनुको साथै समयको पनि बचत हुने बताईन् । उक्त कार्यक्रममा बोल्दै भारतीय कन्सुलेट वीरगन्जका पोलिटिकल कन्सुल शैलेन्द्र कुमारले भारत सदैव नेपालका जनतालाई विभिन्न सहयोग गर्न तत्पर रहेको बताए ।

त्यस्तै, नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका सभापति सुरेन्द्र सिंहले भारत सरकारको सहयोगले नेपाली जनतालाई धेरै मद्दत पुग्ने बताए । वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले यस किसिमका कार्यक्रमले महिलाको पुनरुत्थानमा सहयोग हुने बताउँदै भारतीय सहयोग नेपालको विकासका लागि अपरिहार्य रहेको बताए ।

गोडैता नगरपालिका प्रमुख देवेन्द्र कुमार यादवले आफु नगरपालिकालाई धुवाँधूलो मुक्त नगरपालिका बनाउन अग्रसर रहेको बताउँदै यस्तो सहयोगले प्रोत्साहित गरेको बताए । नेपाल भारत महिलामैत्री समाजले अहिलेसम्म सप्तरीको तिरहुत गाउँपालिका र सर्लाहीको कौडेना नगरपालिका एवं गोडैता नगरपालिकामा ग्यास वितरण गरिसकेको र अब छिट्टै नै रौतहट जिल्लाका दुई स्थानीय तहमा निःशुल्क ग्यास चुल्हो सेट वितरण गरिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्