Logo

गगनलाई रवि लामिछानेको जवाफः ‘अब त्यति सजिलै खसी खान मिल्दैन’



काठमाडौं, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूमाथि आरोपमात्रै लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले आरोप लगाएको तर आफूलाई संसद् र संसदीय समिति कतै पनि सफाइ पेश गर्ने मौका नदिइएको भन्दै आक्रोश व्यक्त गरे ।

गृहमन्त्री लामिछानेले खसी बोकेको एउटा मानिसको कथा सुनाउँदै कांग्रेस महामन्त्री गगनकुमार थापालक्षित कटाक्ष गरे । उनले रवि लामिछाने बेबकुफ नरहेको र अब त्यति सजिलै खसी खान नमिल्ने भन्दै कांग्रेस महामन्त्री थापालक्षित कटाक्ष गरे ।

‘त्यो कथा धेरै पुरानो हो साथी । अब खसी खान पाइँदैन । मलाई थाहा छ, यो कुकुर होईन, खसी हो । अब त्यो खसी खान मिल्दैन । किनकी त्यो बोक्ने मान्छे बेबकुफ थियो होला, रवि लामिछाने त्यति बेबकुफ मान्छेको नाम होईन,’– उनले भने ।

साथै, आफूहरु कांग्रेसका मन्त्रीलाई प्रधानमन्त्रीले गलहत्याएर निकालेको झैं सरकारमा नबस्नेसमेत उनले बताए । गृहमन्त्री लामिछानेले काम गर्न नदिइएको र नसकेको दिन सरकार छाड्ने बताए । ‘हामी देशको सबैभन्दा ठूलो दल कांग्रेसका मन्त्रीजस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याँकिनुपर्ने ठाउँमा पुग्दैनौं । हामी काम गर्न नसकेको र नपाएको दिन सत्ता छोडेर जान्छौं । सबैको झोलामा राजीनामा तयार छ, मिति लेख्नमात्रै बाँकी छ,’– उनले भने ।

उनले कांग्रेसका नेताहरुले केही नबुझेर पनि सबै बुझेको नाटक गरेको बताए । कांग्रेसले सहकारी ठगी प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै राजीनामा मागेको उनले स्मरण गराए । कसैले दिएको ठाडो उजुरीको भरमा कोही मानिस पनि दोषी नहुने उनको भनाइ छ । उनले आफूलाई दोषी प्रमाणित गरेर देखाउन कांग्रेसलाई चुनौति दिए ।



प्रतिक्रिया दिनुहोस्