Logo

गृहमन्त्री लामिछानेलाई प्रभु साहको प्रश्नः ‘राज्यको दयालु स्वभाव महरामा मात्रै लागू हुन्छ ?’ (भिडिओसहित)



काठमाडौं, ११ चैत । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले वर्तमान राज्य व्यवस्थाको चरित्र लुटकारी र भ्रष्टाचारी रहेको टिप्पणी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको राज्यको संरचनामा आएर कसैले देशको भलाइ र समृद्धिको लागि केही गर्छु भन्नु केवल कोरा कल्पनामात्रै हुने बताएका हुन् । वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पनि यही संरचनामा कुनै काम गर्न नसक्ने उनको ठोकुवा छ ।

‘अहिलेको राज्यको चरित्र भनेकै लुटकारी हो, भ्रष्टचारी हो । यो राज्यको संरचनाले देशलाई बनाउँछु, अपराधीलाई दण्डित गर्छु भन्नु ‘हात्ती आयो, हात्ती आयो फुस्स’ भनेजस्तै हो । यो गृहमन्त्रीले पनि केही गर्छु भन्नुभयो भने काल्पनिकबाहेक अरु केही पनि हुँदैन । त्यसैले यो राज्य संरचना नै समस्या हो,’– उनले भने ।

सरकारले पछिल्लो समय विभिन्न प्रकरणमा मान्छेहरुलाई नियन्त्रणमा लिए पनि निश्कर्षमा पुर्याउन नसकेको उनको भनाइ छ । उनले ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका प्रकरणमा ठूला मान्छे भनिएकालाई चोख्याउने बाहेक केही काम नभएको आरोप लगाए । अध्यक्ष साहले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई सुन तस्करी प्रकारणमा समातेर छाड्नुमा चलखेल भएको हुनसक्ने आशंका व्यक्त गरे । उनले ‘महरा दोषी हो भने किन छाडेको ? निर्दोष हो भने किन समाएको ?’ भन्दै वर्तमान गृहमन्त्रीलाई प्रश्न गरे । कुनै पनि मानिसलाई यथेष्ट प्रमाण नभइ प्रक्राउ गरेर उसको मानमर्दन गर्न नहुने र प्रमाण छ भने उसलाई महरालाई छाडेको जसरी छाड्न नहुने उनको भनाइ छ ।

‘हिजो गृहमन्त्री (रवि लामिछाने) नहुँदा पनि कयौं मान्छे समातिए, कयौं छुटे । ललिता निवास के–के न हुन्छ भनेको, के भयो ? खै हामी हेरैकै छौं । भुटानी शरणार्थी के–के न हुन्छ भनेको, हामी हेरैकै छौं । अरु काण्डहरु पनि हामीले हेरैकै छौं ।’ उनले भने, ‘रवि लामिछानेजी आउनुभयो, महराजी समातिनुभयो । के–के न हुन्छ भनेको, महराजी त बाहिर निस्किनु भयाृे । यो भन्दा अरु मजाक के हुन्छ ? किन महराजीलाई समातिएको थियो ? यदि दोषी हो भने किन छोडियो ? निर्दोष हो भने अरुको मानमर्दन गर्न मिल्छ ?’

गृहमन्त्री लामिछानेले ‘महराको स्वास्थ्य अवस्थालाई ख्याल गरेर छाडिएको, राज्यको चरित्रमा करुणा पनि हुनुपर्छ’ भनी दिएको प्रष्टीकरणलाई खण्डण गर्दै उनले ‘राज्यको दयालु स्वभव ठूला माछालाई मात्रै लागू हुने हो’ भनी प्रश्न गरे । अहिले राज्यको ओहदामा बसेकाहरुले भ्रष्टाचारी चोख्याउने बाहेक अरु केही काम नगरेको उनको टिप्पणी छ । उनले महरालाई पनि सरकारले चोख्याउन खोजेको हो कि भन्ने आशंका व्यक्त गरे ।

‘त्यसो भए जेलमा मान्छे मरिरहेको छ, छोड्दिन पर्दैन ? जेलमा मान्छे मरिरहेको छ, थुनामा मान्छे मरिरहेको छ । हनुमान ढोका हेरौं, टेकुमा गएर हेरौं, मान्छे रोगले मरिरहेको छ । उसलाई छोड्दिनु पर्दैन ? यदि दयालु स्वभाव खाली महरामा मात्रै लागू हुन्छ ? ठूला माछामा मात्रै लागू हुन्छ ?’ उनले भने, ‘त्यसैले यी सबै वकवास हो । यो राज्यको ओहदामा बसेकाहरुले भ्रष्टाचारीलाई चोख्याउनेमात्रै हो । किन भने भ्रष्टाचारीले भ्रष्टाचारीलाई कारबाही गर्छ ? राज्यको ओहदा भनेकै भ्रष्टाचार गर्नलाई हो, लुट्नलाई हो ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्