काठमाडौं, ११ चैत । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । आज (आइतबार) पार्टी कार्यालय च्यासलमा बैठकमा पछिल्ला राजनीतिक घट्नाक्रम, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र आसन्न उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपपनिर्वाचनको तालिका सार्वजनिक गरिसकेको छ । सोही मितिमा इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (क) मा प्रदेश सभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ ।
आजको बैठकमा दुवै क्षेत्रमा उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल हुने बताइएको छ । इलाम–२ को उपनिर्वाचनलाई एमालेले विशेष गरी प्रतिष्ठाको रुपमा हेरेको छ । इलाम– २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
बझाङ १ (क) मा भने उक्त क्षेत्रबाट निर्वाचित पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएको थियो । उनी सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत थिए । File Photo/RN