Logo

सुन तस्करी प्रकरणः प्रतिवेदन अध्ययनका लागि सहसचिवको नेतृत्वमा समिति गठन



काठमाडौं, ११ चैत । सुन तस्करी प्रकरण छानविनका लागि गठित समितिले बुझाएको प्रतिवेदन अध्ययन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा प्रतिवेदन अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयले कानुन महाशाखा प्रमुख सहसचिव भरतमणि रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

समितिमा डीआईजीपी भीमप्रसाद ढकाल र गृह मन्त्रालयका प्रहरी प्रशासन शाखा प्रमुख उपसचिव रामबहादुर शाही छन् ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रीस्तरीय निर्णयमार्फत प्रतिवेदन अध्ययन समिति गठन गरेका हुन् ।

सरकारले सुन तस्करी छानविनका लागि उच्च अदालतका पूर्वन्याधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । उक्त जाँचबुझ आयोगका सदस्यहरुमा पूर्वएआईजी सहकुल थापा, गृहमन्त्रालयका प्रेमराज जोशी र अर्थमन्त्रालयका किशोरजंग कार्की थिए ।

उक्त समितिले केही दिनअघि प्रतिवेदन बुझाइसकेको छ । समितिले प्रतिवेदनमा सुन तस्करी प्रकरणमा अनुसन्धानमा गम्भीर त्रुटी भएको निश्कर्ष निकालेको थियो । समितिको प्रतिवेदनकै आधारमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस्