Logo

रञ्जिताजी मन्त्री बनेर कांग्रेस, एमाले र माओवादीको मात्रै काम गर्नुभयोः रेशम चौधरी



काठमाडौं, ११ चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले सरकारमा गएर आफूहरुलाई केही गर्न नदिइएको बताएका छन् । आज (आइतबार) जापनको थारु कल्याणकारिणी सभाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीबाट रञ्जिता श्रेष्ठ ११ महिना मन्त्री भएपनि केही काम गर्न नसकिएको बताए । चौधरीले रञ्जिता मन्त्री हुँदा माओवादी, कांग्रेस, एमालेको मात्रै काम बनेको बताए ।

‘हामीलाई सरकारमा गएर केही गर्न दिनेवाला छैनन् । ११ महिना रञ्जिताजी मन्त्री बन्नुभयो । काम हाम्रो भएन, कांग्रेस, एमाले, माओवादीको मात्रै भयो ।’ उनले भने, ‘जनताको काम गर्नै नसक्ने मन्त्रालय दिएर गाडी चढ्नलाई र उद्घाटन गर्ने जानलाई मन्त्रालय हामीलाई चाहिएको छैन । हामी असली जनताको सेवक बन्न चाहन्छौं । जनतासँग खेतमा गएर किसानको समस्या बुझ्न चाहन्छौं ।’

अहिलेका ठूला दल आफूहरुको घर भत्काइदिने स्याल, हुँडार, बाघ, भालुजस्तै भएको उनले बताए । चौधरीले ठूला दलहरुले ०८४ सम्म साना दललाई सखाप पार्ने योजना बुनेको दाबी गरे । यो कुरा नाउपाका सबैले बुझ्नुपर्ने उनले बताए । नाउपाका केही नेताहरुले जनताको सेवक बन्न छाडेर मन्त्री बन्ने अपेक्षा राखेको भन्दै आपत्ति जनाए । उनले नाउपाका नेताहरु सकेसम्म आफ्नो आँखा छलेर सिंहदरबार जान खोजेको बताए ।

‘मेरो पार्टीमा पनि धेरै साथीहरुको आकांक्षा रहेछ मन्त्री बन्ने । म भन्छु जनताको सेवक बन्न पाऊँ । मेरा साथीहरु भन्नुहुन्छ मन्त्री बन्न पाऊँ । म भन्छु– जनताको सेवा गर ।’ उनले भने, ‘मेरा साथीहरु भन्छन्– गाडी चढेर सिंहदरबार कतिबेला जान पाइएला ? सकेसम्म रेशम चौधरीको आँखा छलेर जान पाए हुन्थ्यो ।’

आफूलाई जनताको सेवक पार्टीमा भित्र्याइन कि क्या हो भन्ने बेला–बेला लाग्ने गरेको उनले बताए । २०७९ को निर्वाचनमा को राम्रो, को नराम्रो नहेरी टिकट दिएको उनले बताए । उनले आगामी ०८४ को निर्वाचनमा त्यसरी टिकट वितरण नहुने बताए ।स्वार्थमा परेर एक/दुई जना मन्त्रीका लागि पार्टी तितरवितर बनाउने प्रयत्न नगर्न उनले सबैलाई आग्रह गरे ।

रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् । पार्टीको विषयलाई लिएर उनीहरुबीच तिक्तता बढिरहेको छ । रेशम प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन नहुने पक्षमा थिए । तर, रञ्जिताले रेशमको आग्रहलाई अस्विकार गर्दै विश्वासको मत दिन आफ्ना सांसद्हरुलाई ह्वीप नै जारी गरेकी थिईन् । त्यसैगरी, रञ्जिताको सहमतीविना नै रेशमले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीबाट मन्त्री पठाएका थिए । रञ्जिताले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका नाउपाका मन्त्रीहरुलाई कारबाही गर्नेसमेत चेतावनी दिएकी थिईन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्