काठमाडौं,१२ चैत । सत्ता समीकरण उलटफेर भएपछि पहिलो पटक आज संवैधानिक परिषद्को बैठक बस्दैट । प्रधानमन्त्रीसमेत रहेका परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजका लागि बैठक डाकेका छन् ।
आज बस्ने परिषद्को बैठकमा ११ महिनादेखि रिक्त महालेखापरीक्षक नियुक्तिबारे छलफल हुनेछ । तत्कालीन महालेखापरीक्षक टंकमणि शर्मा दंगालले गत जेठ ८ गतेबाट ६ वर्षे कार्यकाल पूरा गरेर बिदा भएपछि महालेखापरीक्षकको कार्यालय कार्यवाहकको भरमा चलेको छ ।
संवैधानिक परिषद्ले नियुक्त गर्ने संवैधानिक पदहरूमा पदाधिकारीहरू रिक्त छन् । गत १८ साउनको बैठकले महालेखापरीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि इच्छुकहरूको आवदेन गर्नुपर्ने व्यवस्थाका लागि प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् । प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा अब कांग्रेस सभापति शेरबहादुर देउवा परिषद् बैठकमा उपस्थित हुनेछन् ।