Logo

काठेखोलाका सुत्केरीलाई आमासमूहको उपहार घ्यू र अण्डा



बागलुङ,१२ चैत । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराकी रुपा विकले घरपालुवा कुखुराको अण्डा जोहो गरेकी छन् । दुई वर्षअघि आफू सुत्केरी हुने बेला पोषण नपुग्ला कि भनेर उनी आबद्ध सिर्जनशील स्वास्थ्य आमासमूहले ल्याएको पोषणयुक्त खानेकुरा उनलाई अहिले पनि झलझली याद आउँछ ।

रुपा सुत्केरी हुनेबेला स्वास्थ्य स्वयंसेविका गीता हमालको नेतृत्वमा आमासमूहका प्रतिनिधि घ्यू, अण्डा, तरकारी, गेडागुडी र चामललगायत पोषणयुक्त खाना लिएर भेट्न पुगेका थिए । अहिले उनको समूहका आठ सदस्य गर्भवती छन् । उनीहरुलाई भेट्न जाँदा आफैंले पालेका कुखुराका अण्डा उपहार लैजाने योजना रुपाले बनाएकी छन् ।

भीमपोखरामा रहेको आमासमूहले समूहमा आबद्ध सदस्य तथा उनीहरुका घरपरिवारका सदस्य सुत्केरी हुँदा सामूहिकरुपमा भेट्न जाने पद्धति विकास गरेको छ । भेट्न जाँदा कोही पनि खाली हात जान पाउँदैन । समूहमा आबद्ध कसैलाई पनि कोसेली ल्याउन बाध्यकारी व्यवस्था भने छैन । आमाहरुले आफैँले गर्भावस्था र सुत्केरी अवस्थामा पोषणको कमी हुन नदिने सन्देश प्रवाह गर्ने र एकअर्कालाई सहयोग गर्नकै लागि आफ्नो घरमा जे छ त्यही कोसेलीका रुपमा लैजाने गरेका छन् ।

आमासमूहको अभ्यासले गर्भवती र सुत्केरीलाई पोषणयुक्त खाना खुवाउन निकै महत्वपूर्ण भूमिका खेलेको स्वयंसेविका हमालले बताए । समूहको बैठक प्रत्येक महिनाको एकपटक आमासमूहका अध्यक्ष वा स्वयंसेविकाले खबर गरेको ठाउँ र समयमा बस्ने गरेको छ । बैठकमा सहभागीले हरेक महिना रु एक सय जम्मा गर्छन् । सदस्यहरुले त्यही पैसा समूहमै लगानी गरेर अप्ठ्यारो परेकालाई काम चलाउँछन् भने ब्याज रकमबाट असहाय तथा विपन्न परिवारका सुत्केरीलाई पोषण पु¥याउनकै लागि सहयोगसमेत गर्छन् ।

बैठक र सुत्केरी भेटघाटमा जाँदा आमा तथा बच्चाको स्वास्थ्य एवं पोषणसम्बन्धी धेरै कुरा थाहा पाएको समूहकी अध्यक्ष चन्द्रकला थापाले बताए । “आमासमूहको बैठक नियमित हुन्छ, सुत्केरी भेट्न जाँदा पोषणयुक्त खाना बोकेर जाँदा घरकै उत्पादन बोकेर जान्छौँ”, उनले भने, “बैठकमा जाँदा दिदीबहिनीसँग सुखदुःखका कुरा गर्न पाइन्छ ।” उनका अनुसार गर्भावस्था र बच्चा स्याहार्ने बेला थुप्रै समस्या हुने र आफ्नो जस्तै भोगाइ भएका हजार दिने आमाहरूसँग भेटेर ती जिज्ञासा मेटाउन पाइन्छ ।

सो समूहमा २० जना सदस्य छन् । बैठकमा समूहका सदस्यबाहेक अरू पनि आउने गरेका छन् । स्वास्थ्य र पोषणको विषयमा बुझ्न खोज्नेहरू समूहमा आउने गरेको उहाँले बताउनुभयो । बजारिया खानपानभन्दा गाउँकै उत्पादन आमा र बच्चाको स्वास्थ्यका लागि राम्रो भन्ने सन्देश आमासमूहले गाउँभरि प्रवाह गरेको छ ।  



प्रतिक्रिया दिनुहोस्

Screenshot