Logo

गृहमन्त्री लामिछाने र इजरायली राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं,१२ चैत । नेपालस्थित इजरायली राजदूत हनान गोडर र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीभ भेटवार्ता भएको छ । भेटमा राजदूत गोडरले गृहमन्त्री लामिछानेलाई बधाई दिएका छन् ।

सोमबार सिंहदरबारमा भएको भेटका क्रममा उनीहरूबीच इजरायलमा रहेका नेपाली नागरिकको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति र हमासद्वारा अपहरणपछि बेपत्ता विपिन जोशीको सुरक्षित नेपाल फर्काई लगायत विषयमा छलफल भएको गृह मन्त्रीको सचिवालयले जनाएको छ । ।

राजदूत गोडरले गत अक्टोबर ७ मा विद्रोही समूह हमासद्वार अपहरण गरी लगेका विपिन जोशीको अवस्थाबारे इजरायल सरकार चिन्तित रहेको बताएका थिए।

उनले अपहरणमा परेर बेपत्ता विपिनसहित अक्टोबर ७ मा ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहतस्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए।

भेटमा गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरेका लामिछानेको सचिवालयले जनाएको छ ।

राजदूत गोडरले त्यहाँको अवस्थाको मूल्यांकनका आधारमा परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गर्न छलफल गरी ठोस कदम चालिने बताए।

उहाँहरूबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल-इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको छ।



प्रतिक्रिया दिनुहोस्