Logo

एमाले अध्यक्ष ओली आदित्य मोक्षधाम–काव्य गोष्ठीमा (तस्बिरहरु)



काभ्रेपलाञ्चोक, १२ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिमबोटमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन गरेका छन् । धामको अवलोकनपछि उनले तेस्रो मोक्षधाम काव्य–गोष्ठीमा सहभागिता जनाएका छन् ।

गोष्ठीमा एमालेका उपमहासचिव एवम् साहित्यकार प्रदीप ज्ञवालीले ‘काष्ठमण्डपमा एक्लो परेवा’ शीर्षकमा कविता वाचन गरेका थिए । यस्तै गोष्ठीमा डा बुनु दाहाल, मुराहरि सिग्देल, रामप्रसाद पन्त, ममता मिर्दुला, विजयध्वज थापा, सुष्मा आचार्यलगायत १ं७ जना कवि एवं कवयित्रीले आ–आफ्ना कविता वाचन गरेका थिए । प्रस्तुत कविता विशेषगरी आध्यात्मिक ज्ञान एवम् चैतन्य आदित्य (बाल योगी) को विचार–दर्शनसँग मिल्दाजुल्दा थिए ।

केही वर्षअघि ‘गुगल ब्वाई’ का रुपमा चर्चामा आएका आदित्य दाहाल हाल १४ वर्षको भए । चार वर्षको उमेरदेखि ध्यान–साधनाको अभ्यास गर्न थालेका आदित्यको सोही समयदेखि केही शारीरिक दुर्बलता रहेपछि परिवारद्वारा देशविदेशमा उपचारको प्रयास गरेपनि हुन सकेको थिएन । आदित्यकै नाममा गत वर्षदेखि पनौतीको दारिमबोटमा उक्त धाम निर्माण सुरु गरिएको थियो ।

अध्यक्ष ओलीले निर्माणाधीन उक्त मोक्ष धाममा हाल भइरहेको धार्मिक गतिविधिको जानकारीसमेत लिए । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको थियो ।

सबै तस्बिर ओलीको सचिवालय 



प्रतिक्रिया दिनुहोस्