Logo

नेकपा (एस) र माओवादीसँगको एकता एमालेको कार्यनीतिक एजेण्डा होइनः विष्णु रिजाल



काठमाडौं, १३ चैत । नेकपा (एमाले) का नेता विष्णु रिजालले आफूहरु अहिले पार्टी एकताको पक्षमा नरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिजिभनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वामपन्थी एकता हुँदा पनि सरकार बन्ने अवस्था नरहेकाले अहिले पार्टी गठबन्धनलाई नै अगाडि बढाउन उपयुक्त हुने बताएका हुन् । विगतका अनुभवलाई पनि आधार बनाएर पार्टी एकतालाई प्राथमिकतामा नराखिएको उनले बताए ।

‘अहिले हामी पार्टी एकीकरणको अभियानमा छैनौं । पार्टी बलियो बनाउने, मजबुद बनाउने र समीकरणलाई अगाडि लैजाने पक्षमा छौं । अहिले हामीले वामपन्थी एकताको मात्रै कुरा गर्दा प्रतिनिधि सभाबाट सरकार पनि बन्दैन । प्रतिनिधि सभामा वामपन्थीहरुको बहुमत छैन । अहिले हामीले विगतका अनुभवको आधारमा पनि पार्टी एकतालाई प्राथमिकता दिएका छैनौं । काम गर्दै जाँदा, बस्दै जाँदा दुई चार वर्षपछि त्यो वातावरण बनेछ भने हामी त्यसलाई अस्वीकार गर्दैनौं,’– उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीचको संवादहीनता तोडिएको स्मरण गराउँदै उनले विगतको तीता अनुभव भुलेर असल कार्यका लागि सहकार्य सुरु भएको बताए । तर, एमाले–समाजवादी पार्टीबीच अहिले नै एकताको कुनै गुञ्जायस नरहेको बताए ।

‘भेटवार्ता पहिला हुँदैभएको थिएन, मनमुटाव थियो, बोलचाल थिएन । त्यो सत्य हो । पछिल्लो दिनमा हाम्रा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अग्रसरतामा त्यो संवादहीनता तोडिएको छ ।’ उनले भने, ‘हामीले विगतका तिक्तताहरुलाई भुलेर, विगतमा आफ्नै पार्टीको सरकारलाई विस्थापित गर्ने, पार्टी विभाजन गर्नेजस्ता तमाम पीडापूर्ण इतिहासलाई पनि बिर्सिएर हामीले असल कामको लागि सहकार्यको प्रस्ताव लिएर गएका छौं ।’



प्रतिक्रिया दिनुहोस्