Logo

प्रदेश सरकार भागबन्डामा मिल्यो कुरा, कसलाई कुन प्रदेश ?



काठमाडौं,१३ चैत । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच प्रदेश सरकारको भागबन्डाबारे सहमति जुटेको छ ।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । तीन नेताबीच भएको छलफलमा सातै प्रदेशमा प्रदेश सरकारको नेतृत्वबारे मोटामोटी सहमति जुटेको बालुवाटार स्रोतले जनाएको छ ।

सोमबार तीन नेताबीच भएको सहमति अनुसार सत्ता गठबन्धनको सबैभन्दा ठूला दल नेकपा एमालेले तीन प्रदेशको नेतृत्व पाउनेछ । त्यस्तै माओवादी केन्द्रले २ प्रदेशमा नेतृत्व लिनेछ भने जसपा र नागरिक उन्मुक्ति पार्टीले समान १ प्रदेशमा मुख्यमन्त्री पाउनेछ ।

सत्ता गठबन्धनमा भएको सहमति अनुसार एमालेले कोशीसहित गण्डकी र कर्णालीको नेतृत्व लिनेछ । माओवादीले बागमती र लुम्बिनी प्रदेशको नेतृत्व लिनेछ । मधेशमा जसपाले नेतृत्व लिँदा सुदूरमा नाउपालाई मुख्यमन्त्री दिनेगरी सहमति भएको हो ।

हाल कोशी, सुदूर, गण्डकी र लुम्बिनीमा नेपाली कांग्रेसको सरकार छ भने बागमती र कर्णालीमा माओवादीको सरकार रहेको छ । मधेशमा जसपाका नेता सरोज यादव नेतृत्वको सरकार छ । तीन नेताबीचको सहमति अनुसार तत्काललाई मधेशमा जसपाकै सरकार रहने र २ वर्षपछि एमालेले सरकारको नेतृत्व लिनेछ ।

कर्णालीमा हाल माओवादी सरकार रहेको छ । संघमा भएको सहमति अनुसार अब कर्णालीमा एमालेका प्रदेश संसदीय दलका नेता यमलाल कँडेल मुख्यमन्त्री बन्नेछन् । कँडेल यसअघि अघिल्लो प्रदेश सभामा पनि मुख्यमन्त्रीका दावेदार थिए । तर, आफ्नै पार्टीका चार सांसदले विपक्षीलाई साथ दिएपछि कँडेल मुख्यमन्त्री बनन्बाट रोकिएका थिए ।

गत वर्ष बनेको सत्ता गठबन्धनमा पनि पहिलो चरणमै मुख्यमन्त्रीका दावेदार रहेका उनी कर्णाली माओवादीको भागमा परेपछि केन्द्रसँग चिढिँएका थिए । गत वर्षको समीकरण २ महिनामै भत्कीएपछि कँडेलको मुख्यमन्त्री बन्ने सपना तुहिएको थियो । तर, १४ महिनापछि फेरि सत्ता गठबन्धनमा उलटफेर आएपछि मुख्यमन्त्री बन्ने कँडेलको सपनाले सार्थकता पाउनेछ ।

यस्तै सत्ता गठबन्धनमा आवद्ध तीन दलबीच आसन्न् उपनिर्वाचनकबो बारेमा पनि मोटामोटी सहमति जुटेको बालुवाटार स्रोतको भनाई छ ।

बालुवाटार स्रोतका अनुसार एमालेबाट इलाम २ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङलाई माओवादी, जसपा र नेकपा एसले समर्थन गर्नेछन् । तर, बझाङको प्रदेश सभामा भने एमालेसँगै नेकपा एसले पनि दाबी गरेको छ । माओवादी र जसपाले भने दुवै ठाउँमा एमालेलाई सघाउने लगभग निश्चित रहेको स्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्