काठमाडौं,१३ चैत । आसन्न इलाम-२ को उपचुनवाका लागि राप्रपाले तीन जनाको नाम केन्द्रमा पठाएको छ । इलाम २ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि राप्रपा इलाम जिल्ला कमिटीले लक्ष्मी गुरुङसहित तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।
वैशाख १५ गते हुने सङ्घीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्य सम्पादन समितिको बैठकले लक्ष्मी गुरुङसँगै, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको राप्रपाले जनाएको छ ।
इलाम २ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि एमालेले यसअघि नै सुवास पुत्र सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले सुहाङलाई समर्थन गर्ने तयारी गरेका छन् ।