Logo

विश्व शान्ति र समृद्धिका लागि प्रथम अन्तर्राष्ट्रिय ड्युड्ने बौद्ध समारोह-२०२४’ आयोजना



काठमाडौं, १३ चैत । धर्म टेलिभिजन र बुद्धिस्ट टिचिङ एण्ड मेडिटेसन सेन्टरको संयुक्त महाअभियान धर्म आइडल क्याम्पेनले नेपालमा ‘प्रथम अन्तर्राष्ट्रिय ड्युड्ने बौद्ध समारोह–२०२४’ आयोजना गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराइएको हो ।

धर्म आइडल क्याम्पेनका संयोजक खेन रिन्पोर्छे सोनाम ग्युर्मेले विश्व मानव समुदाय लगायत सम्पूर्ण प्राणी जगतको कल्याण, शान्ति र समृद्धिका आफूहरुले कार्यक्रम आयोजना गरेको बताए ।

‘हामीले संसारलाई प्रतिनिधित्व दिन सक्छौं, शान्तिको अगुवाइ गर्न सक्छौं । यही अपेक्षा लिएर अहिले हामीले धर्म आइडल क्याम्पेनको माध्यमद्वारा प्रत्यक वर्ष ड्युड्ने बौद्ध समारोह, विश्व शान्ति महायज्ञ र धर्म आदर्श महाअभियानसँग सम्बन्धित कन्फ्रेन्स राख्ने अठोट गरेका छौं,’– उनले भने ।

संयोजक ग्युर्मेले राष्ट्रको पहिचान कायम गर्न आफूहरु लागिपरेको बताए । संसारभरका धर्म गुरुहरु काठमाडौंलगायत नेपालका विभिन्न सहरमा आउन आत्तुर देखिएको दाबी गर्दै उनले मौलिक पहिचानसहितको ऐतिहासिकता बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रम आगामी चैत १५ गते दिउँसो साँढे ३ बजे प्रज्ञा भवनमा हुने बताइएको छ । कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले गर्ने बताइएको छ ।

उक्त कार्यक्रममा विभिन्न देशका राजदूत, धर्मगुरु र विशिस्ट ब्याक्तित्वहरुको उपस्थिति रहने बताइएको छ । कार्यक्रमको अन्तमा इभेन्ट्सका दाता र धर्म आइडल स्पोन्सरसीप मेम्बरहरुलाई सम्मान कार्यक्रमसमेत राखिएको बताइएको छ ।

समारोहअन्तर्गत १६ दिने कापी छ्यागे ड्युङ्ने, १ दिने विश्व शान्ति महायज्ञ शिवेइ डियन्सेग र महाकरुणामीको अभिषेक साथै ३ दिने इन्टरनेशनल धर्म आइडल बुद्धिष्ट कन्फ्रेन्स २०२४ वैशाख २६ देखि जेठ १४ गतेसम्म टुँडिखेल मैदानमा आयोजना गरिएको समेत बताइएको छ । उक्त समारोहमा ७ हजार नेपाली, २ हजार भारतीय र विभिन्न देशबाट एक हजार सहभागी हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्