काठमाडौं, १३ चैत । इलाम–२ को आसन्न प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेर मिलन लिम्बु चुनावी मैदानमा होमिएका छन् । चुनावी मैदानमा होमिएका लिम्बु यतिबेला निर्वाचन क्षेत्रका जनतासँग संवाद र छलफलमा व्यस्त छन् । उनी पत्रकार हुन् । लिम्बु नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका सचिवसमेत हुन् ।
स्वतन्त्र उम्मेदवारीको घोषणासहित चुनावी मैदानमा रहेका लिम्बुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारको रुपमा अगाडि सार्ने तयारी गरेको छ । लिम्बुले रास्वपाको उक्त तयारीलाई सकारात्मक रुपमा लिएको बताए । उनले आफूलाई जनताहरुले रास्वपासँग सहकार्य गरेर आउन सुझाव दिएको समेत बताए ।
‘छलफल जारी नै छ । रास्वपाको उम्मेदवार बनेर चुनावमा सहभागी हुने कुरालाई सकारात्मक रुपमा लिएको छु । रास्वपासँग सहकार्य गरेर अगाडि जानुस् भन्ने जनताको पनि सुझाव छ ।’ रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘पुराना दलहरुले राम्रो काम गर्न सकेनन् । यस पटक नयाँ दलको सक्षम उम्मेदवारलाई साथ दिन्छौं भन्ने जनभावना छ ।’